नेभिगेशन
सुरक्षा–अपराध

करोडपति सोनमले पतिको हत्याका लागि किन ‘हनिमुन’ नै रोजिन्?

आमा उमा भन्छिन्- सोनमसँग पैसाको कमी थिएन। उनको खातामा २० लाख रुपैयाँ थियो

काठमाडौं– पतिसँग हनिमुन गई हत्या गर्ने पत्नीलाई पक्राउ गरेपछि अनुसन्धानको काम जारी राखेका बेला अनेक प्रकारका तथ्य खुलिरहेका छन्। 
प्रसङ्ग हो, सोनम रघुवंशीले हनिमुनमा लगेकी पति राजा रघुवंशीको हत्या गराउन खोजेकै विषय।

सोनमले प्रेमी राज कुशवाहासँग जान हनिमुनको बहानामा पति राजालाई मध्य प्रदेशस्थित इन्दौरबाट मेघालय लगी भाडाका मानिस (कन्ट्र्याक्ट किलर) लगाएर मारेको आरोप छ। 

यस क्रममा उनले कन्ट्र्याक्ट किलरहरूलाई २० लाख रुपैयाँ दिएको दाबी गरिएको छ। करोडपति सोनमले प्रेमीसँग जीवन बिताउनका लागि नै पतिको हत्या गराउन लगाएको पनि खुलेको दाबी गरिन्छ।

तर प्रहरीले पक्राउ गरेपछि उनको सबै योजना असफल भएको छ। अब उनी कानुनी फन्दामा परिसकेकी छन्।

उनले व्यस्त पति हनिमुनको नाममा घुम्न जाने भएकाले र इन्दौरभन्दा निक्कै पर प्रहरीले पनि पत्ता लगाउन गाह्रो हुने भएकाले हत्याको योजना बनाइन्। प्रेमीसँगको मिलन हुने कारण पनि सोही बाटो रोजेको बताइन्छ।

सोनम मध्य प्रदेशको इन्दौरको एक सम्पन्न व्यापारी परिवारकी छोरी हुन्। उनका बुबा देवीसिंह रघुवंशी इन्दौरमा प्लाइवुड कम्पनी चलाउँछन्। सोनम पनि उक्त यस कम्पनीमा काम गर्थिन्।

यस्तै गुजरातमा पनि सोनमको परिवारको प्लाइवुड व्यवसाय छ। जुन सोनमका दाइ गोविन्द रघुवंशीले सञ्चालन गरिरहेका छन्। साथै यो परिवार सजावटी व्यवसायमा पनि संलग्न छ। 

सोनम रघुवंशी पारिवारिक व्यवसायमा मानव संसाधन विभाग अर्थात् एचआर डिपार्टमेन्टमा काम गर्थिन्। जसअन्तर्गत उनले कम्पनीमा कर्मचारी भर्ती, तालिम र कारखाना सञ्चालनजस्ता जिम्मेवारी सम्हाल्ने गर्थिन्। कम्पनीका ठूला र महत्त्वपूर्ण निर्णयमा पनि उनले ठूलो भूमिका खेलेकी थिइन्।

सोनमले हरेक महिना तलबका साथै व्यवसायमा नाफाको केही हिस्सा पनि पाउँथिन्। उता उनका पति राजा रघुवंशी पनि यातायात व्यवसाय गर्थे।

पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार मे २३ मा फोटोसुटको बहानामा सोनमले आफ्ना पति राजालाई कोरसा क्षेत्रको पहाडमा लगिन्। अनि सोनमले थाकेको नाटक गरिन् र उनको पछिपछि हिँड्न थालिन्। तीन युवक राजासँगै हिँडिरहेका थिए।

पहाड चढ्दै जाँदा ती युवकहरूले राजा मार्न अस्वीकार गरे। यसपछि सोनमले राजाको पर्सबाट १५ हजार रुपैयाँ निकालेर दिइन् र भनिन्, ‘तिमीहरूले उसलाई मार्नैपर्छ। काम सकिएपछि म २० लाख रुपैयाँ दिन्छु।’

सोनमकी आमा उमा रघुवंशी भन्छिन्, ‘सोनमसँग पैसाको कमी थिएन। उनको खातामा २० लाख रुपैयाँ थियो।’

हाल राजा रघुवंशी हत्या आरोपमा उनकी पत्नी सोनमसहित सोनमका प्रेमी राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मी प्रहरीको हिरासतमा छन्। 

राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्ततः उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।

राजा मारिनुभन्दा अघि पति र पत्नी जंगलमा यात्रा गरिरहेको भिडिओ सार्वजनिक भएको बताइन्छ। यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अब मुद्दा दायरको समय हुन लागेको भारतीय मिडियाले जनाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध