नेभिगेशन
समाज विविध

वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य समस्या, वार्षिक २६ हजारको अकालमा मृत्यु

काठमाडौं । वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व बैंकको ताजा रिपोर्ट अनुसार नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषण हो ।

मंगलबार काठमाडौंमा सार्वजनिक रिपोर्टमा लेखिएको छ, ‘नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख कारक हो । यो कारणले वार्षिक करिब २६ हजार नेपालीको अकालमा मृत्यु हुन्छ र आयु औसत ३.४ वर्षले घटाउँछ । वायु प्रदूषण श्वासप्रश्वास, मुटु, फोक्सो, जन्मजात समस्या, मधुमेह आदि रोगको प्रमुख कारण बनेको छ ।’


वायु प्रदूषण नियन्त्रणका लागि सीमापार समन्वय, नवीकरणीय ऊर्जाको प्रयोग, डढेलो नियन्त्रण, कडा नियम कार्यान्वयन र वैकल्पिक ऊर्जामा अनुदान लगायतका कदम चाल्नुपर्नेमा विश्व बैंकले सुझाव दिएको छ ।

काठमाडौं र तराई हटस्पट

राजधानी काठमाडौं उपत्यका र तराई मधेशका जिल्ला वायु प्रदूषणका हिसाबले हटस्पट हुन् । यी क्षेत्रमा पछिल्लो दशकमा खास सुधार देखिएको छैन ।

काठमाडौं र तराईमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लयू.एच.ओ) ले तोकेको सुरक्षात्मक सीमा (हावामा प्रति घनमिटर ५ माइक्रोग्राम)भन्दा कयौं गुणा उच्च छ ।

नेपालमा हिउँदयाम र गर्मीयामको सुरुवातमा वायु प्रदूषणको स्तर २०० भन्दा बढी पुग्ने गरेको छ । २०७७ सालको चैतमा वायुप्रदूषण बढ्दा चार दिनसम्म विद्यालय बन्द गर्नुपरेको थियो । कम भिजिबिलिटीका कारण हेलिकप्टर उडान समेत बन्द भएको थियो ।

गर्मी र प्रदूषित हावाका संयोजनले नेपालजस्ता कम विकसित मुलुकहरु बढी प्रभावित हुने गरेका छन् । हालै प्रकाशित स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युट अफ इन्भायरोमेन्टल मेडिसिनद्वारा गरिएको अध्ययन रिपोर्टमा जलवायु परिवर्तनका कारण बढीरहेको भिषण गर्मी र वायु प्रदूषणको संयुक्त मारले मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढेको उल्लेख छ ।

वायु प्रदूषणले जीडीपीमा ६ प्रतिशत क्षति

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुुसार ० देखि ५० एक्युआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि एक्युआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मानव स्वास्थ्यका लागि सबैभन्दा चिन्ताजनक प्रदूषक भनेको हावामा उड्ने २.५ माइक्रोनभन्दा साना कणहरू (पी.एम. २.५) हुन् ।

यी साना कणहरु श्वासप्रश्वासको माध्यमबाट फोक्सो हुँदै रगतमा र रगतसँगै अन्य संवेदनशील अंगमा पुग्छन् । त्यसले दम, हृदयाघात, मस्तिष्कघात र क्यान्सर जस्ता स्वास्थ्य समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् 

प्रदूषणका मुख्य स्रोतहरू

नेपालमा वायु प्रदूषणका मुख्य स्रोतहरू उद्योग, खाना पकाउन प्रयोग हुने परम्परागत इन्धन र पेट्रोल डिजलबाट चल्ने सवारी साधन हुन् । जंगलको डढेलोले पनि प्रदूषण बढाउने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बेँसीसहर–चामे सडक अवरुद्ध