नेभिगेशन
समाज विविध

यस्ता काम गरेर विदा भए बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईँ

काठमाडौं– बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई चार बर्षे कार्यावधि पूरा गरी विदा भएका छन्।

०७८ सालमा पहिलो प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल सरकारले नियुक्त गरेका चौलागाईको कार्यकालमा प्रदेश युवा निति, नमूना युवा संसदको अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिमलगायतका काम भएका थिए। 

यसैगरी पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्वपूर्ण रहेको विदाईअघि उनले जनाएका छन्।

प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रुपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएको पनि उनको दाबी छ। 

चौलागाँईले के–के भनेका छन्? 
बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्षको रुपमा मेरो ४ वर्षे कार्यकाल मिति २०८२ साल जेठ ३१ गते पूरा भएको जानकारी गराउँदै मेरो कार्यकाल सुखद्, उपलब्धीमूलक र सफल बनाउन साथ, सहयोग गर्नुहुने प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिव, कर्मचारी साथीहरु, सरोकारवाला निकायका पदाधिकारीहरु, युवा साथीहरु, पत्रकार मित्रहरु, मेरो परिवार, साथीभाइ सम्पूर्णमा आभार व्यक्त गर्दछु ।

राज्यको मूलधारमा युवा पुस्तालाई समावेश गर्न, गराउन, युवा पुस्तालाई प्रेरित गर्न प्रदेश युवा परिषद्को कानून निर्माण गरी कार्यान्वयन गर्दै मलाई पहिलो कार्यकारी उपाध्यक्षको रुपमा जिम्मेवारी दिनुहुने तत्कालिन मुख्यमन्त्री माननीय डोरमणि पौडेल ज्यू, सामाजिक विकास मन्त्री माननीय युवराज दूलाल ज्यू, मलाई पदस्थापित गर्नुहुने तत्कालिन सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेत ज्यू, त्यसपछिका मन्त्रीहरु माननीय विजय सुवेदी ज्यू, माननीय कृष्ण खनाल ज्यू, माननीय कुमारी मोक्तान ज्यू, माननीय रत्नप्रसाद ढकाल ज्यू, माननीय रमा आले मगर ज्यू र वर्तमान युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जन ज्यूप्रति पनि आधार व्यक्त गर्न चाहान्छु ।

पहिलो कार्यकारी उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा कहाँबाट, कसरी, के–के काम गर्ने भन्ने अन्यौलताका बीच सरोकारवालासँगको सरसल्लाह, उपलब्ध कानून, अधिकार र कर्तव्यलाई मध्यनजर गरी काम गर्दै अगाडि बढियो । आफू सवयम् युवा भएर युवाकै लागि गर्न सकिने, गर्नुपर्ने कामको खाका तयार पारेर अगाडि बढ्ने क्रममा मूलतः युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरु गरियो ।

प्रदेश युवा निति, नमूना युवा संसदको अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्वपूर्ण रह्यो । प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रुपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएका छौं ।

युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आर्थिक वर्ष २०८१–८२ लाई सीप वर्षकै रुपमा घोषणा गरेर काम गरियो । झण्डै १०हजार युवालाई सीपमूलक तालिमको आयोजना गरियो । यो कार्यक्रमबाट सयौं युवा स्वरोजगार बन्न सफल हुनुभएको छ । स्वरोजगार प्रतिनिधिमूलक युवाको दस्तावेजको पुस्तक समेत तयार हुँदैछ । महिला युवाको आत्मरक्षाको तालिमलाई प्रदेशभर व्यापक बनाइयो । यसले महिला युवाको आत्मरक्षामा ठूलो टेवा पुगेको छ । महिला युवालाई तालिम दिनकै लागि १३ जिल्लाकै प्रतिनिधित्व रहने गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत आयोजना गरियो ।

युवालाई कुलतको बाटोबाट बचाएर कसरी सक्षम बनाउने भन्ने विषयमा पनि विविध कार्यशाला, अभिमुखीकरण तथा अभिप्रेरणामूलक कार्य गरिएको छ । मुख्यमन्त्रीसँग युवाको प्रत्यक्ष संवादका अभ्यासहरुले पनि युवालाई राज्यको संरचनाको बुझाई र युवालाई राज्यले बुझ्नुपर्ने विषयमा आवश्यक पैरवीको काम पनि परिषद्मार्फत भएका छन् ।

समग्रमा ४ वर्षे कार्यकालमा सरोकारवालासँगको समन्वय, सहकार्यका लागि मैले आफूलाई सहजकर्ताको रुपमा प्रस्तुत गर्दै युवाका मुद्दा राज्य संयन्त्र, नागरिक समाज र समुदायमा स्थापित गर्न, गराउन सफल भएँ भन्ने ठानेको छु । देशका सात प्रदेशमध्ये कतिपय प्रदेशमा युवा परिषद् गठन समेत हुन नसकिरहेका बेला मैले मेरो कार्यकाल सफलतापूर्वक पूर्ण अवधि काम गर्ने अवसर पाएँ । यसमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा पुनः आभार व्यक्त गर्दछु । कतिपय अवस्थामा सरकार, सत्ता परिवर्तनको समयमा जटिलता समेत देखिएको थियो । त्यस अवस्थामा पनि सबैको साथ र सहयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएँ ।

पूरा अवधि जिम्मेवारी सम्हालेर बाहिरिँदै गर्दा गर्व गर्न सक्ने काम भएको महसुस गरेको छु । आगामी दिनमा प्रदेश युवा परिषद्लाई खेलकुद परिषद्सँग गाभेर लैजाने प्रदेश सरकारले घोषणा समेत गरिसकेको छ । पहिलो पूर्ण कार्यकाल काम गरेको अनुभवका आधार युवाको सम्मान र युवा पुस्तालाई उचित सम्बोधन गर्न प्रदेश युवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउनेतर्फ प्रदेश सरकारलाई आग्रह समेत गर्न चाहान्छु । मेरो कार्यकालको अनुभवलाई आगामी दिनमा पनि प्रदेश सरकारको आवश्यकतामा सक्दो साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै फेरि पनि माननीय मुख्यमन्त्री ज्यू, मन्त्री ज्यूसहित प्रमुख सचिव, सचिव, कार्यालयका कर्मचारी परिवारप्रति आभार व्यक्त गर्दछु ।

अन्तमा मेरो कार्यकालभर प्रदेश युवा परिषद्का राम्रा कामका विषयमा समाचार र विचार प्रस्तुत गर्नु भई, केही कमिकमजोरी हुँदा त्यसलाई औँल्याएर साथ, सहयोग गर्नु हुने सम्पूर्ण सञ्चारकर्मी प्रति हृदयदेखि नै आभारी रहँदै कृतज्ञता व्यक्त गर्दछु ।
–सन्तोष चौलागाई
कार्यकारी उपाध्यक्ष (२०७८–२०८२)
बगमती प्रदेश युवा परिषद् 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध