नेभिगेशन
खेलकुद

भागदौड घटनामा विराट कोहलीविरुद्ध पनि प्रहरीमा उजुरी

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीविरुद्ध बैंगलुरुको  भागदौड प्रकरणमा उजुरी पेश भएको छ ।

सामाजिक कार्यकर्ता एच.एम. वेंकटेशले दुर्घटनाको लागि कोहलीलाई दोष दिँदै उजुरी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आरसीबीले पहिलो पटक आइपिएल उपाधि जितेपछि बुधबार  विजयी उत्सव मनाउने क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडका क्रममा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

मिडिया रिपोर्टका अनुसार सामाजिक कार्यकर्ता वेंकटेशको उजुरीमा कोहलीविरुद्ध हाल कुनै एफआईआर दर्ता भने भएको छैन । 

यसअघि, भेणु नामक एक पीडितले कब्बन पार्क प्रहरी स्टेशनमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् र भागदौडको लागि उनीहरूलाई दोषी ठहराएको थियो । 

यसअघि, कर्नाटक प्रहरीले बिहीबार आरसीबी, कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्रालि र केएससीए विरुद्ध एफआईआर दर्ता गरेको थियो । त्यसपछि कर्नाटक राज्य क्रिकेट संघले उच्च अदालतमा पुगेर चिन्नास्वामी स्टेडियम भागदौड मुद्दामा दर्ता गरिएको एफआईआर खारेज गर्न अदालतलाई आग्रह गरेको थियो । केएससीएलाई कर्नाटक उच्च अदालतबाट ठूलो राहत मिल्यो। मुद्दाको सुनुवाइ गर्दै अदालतले राज्य क्रिकेट संघका अधिकारीहरू विरुद्धको दण्डात्मक कारबाहीमा रोक लगायो ।

यस घटनामा आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरूलाई पक्राउ गरेर बयान लिइरहेको छ । पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् ।

विराटविरुद्ध सामाजिक सञ्जालमा पनि फ्यानहरुले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियम बाहिर फ्यानहरु मरिरहदा स्टेडियम भित्र जितको खुशी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।

विराट भागदौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोस व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय