नेभिगेशन
समाज विविध

क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक

चितवन - यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७:०० देखि १०:०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म नि:शुल्क सेवा दिँदै आएका हुन्।

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आउनुभएको हो । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उहाँसँग पोख्थे । उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने रु भनेर नि:शुल्क सेवा सुरु गरेँ ।” यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि नि:शुल्क सेवा सुरु गरेका हुन् । उनले हरेक बिहान ७:०० देखि १०:०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई नि:शुल्क दिँदै आएका छन् ।

उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैँले बस–बसमा गएर खबर गर्छन् ।

दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एक जना बिरामीको भाडा उनले लिन्नन् । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई नि:शुल्क गन्तव्यसम्म पुर्‍याउँछन् । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाएका छन् ।

विदेश जाने तयारीमा रहेका अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए । उनले भने, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दु:खीको सेवा गर्न चाहन्छु ।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्