नेभिगेशन
समाज विविध

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा पालिकाले दियो सार्वजनिक बिदा

तनहुँ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकायमा एक दिनको स्थानीय बिदा लागू गरिएको हो।

गाउँपालिकाद्वारा जारी सूचनामा पालिकाभित्रका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र वित्तीय संस्थाहरूमा बिदा लागू गरिएको उल्लेख छ।

अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्दै समावेशी समाजको निर्माण गर्नुपर्ने आजको आवश्यकता हो। त्यसैका लागि सबै समुदायले सहकार्य गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।”

गाउँपालिकाले बिदा दिँदै जातीय छुवाछुतविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा समावेशी अभियानलाई अघि बढाउन सबैमा आग्रहसमेत गरेको छ।

संविधानतः छुवाछुत र जातीय भेदभावलाई अपराधका रूपमा व्याख्या गरिए पनि व्यवहारमा अझै यस्ता विभेद र शोषणका घटना दोहोरिरहने गरेका छन्। म्याग्दे गाउँपालिकाको यो निर्णय जातीय समानता र सामाजिक न्यायप्रति प्रतिबद्धताको सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

स्थानीय स्तरमा यस्ता पहलले दीर्घकालीन सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने स्थानीय अगुवाहरूको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध