नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले दिएको भाषणले कांग्रेसमा हंगामाको अवस्था, देउवाले सम्हाल्न सक्लान्?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका काम कारबाहीमा समर्थक तथा सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कोही पनि खुशी छैनन्। 

यसै खुशी नभएका अन्य नेता कार्यकर्ता थुमथुम्याउन मुस्किल परिरहेका बेला देउवाको टाउकोमा ओलीले अर्को अवगाल थपिदिएका छन्– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको बारेमा गलत टिप्पणी गरेर। 

उनको टिप्पणीका कारण कांग्रेसमा हंगामा मच्चिनेवाला छ। केही नेताले यसको उत्तर सभापतिसँग खोजिने र चित्त नबुझे केन्द्रीय समिति नै डाकेर एमालेसँगको समीकरण भत्काउनुपर्नेसम्मको प्रस्ताव गरिने बताएका छन्। 

त्यसअघि ओलीले राष्ट्र निर्माताका विषयमा के भनेका थिए? यस्तो छ ओलीको भाषणः 
राष्ट्रिय एकता भन्नेबित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले, अहिले आएर यति बेला पृथ्वीपथ अरे! पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि, त्यही हो क्यार! ढाई सय वर्षअघिको कुरा ल्याएर देशको विकास? देशलाई एकताबद्ध बनाउनु छ।

पृथ्वीपथले एकताबद्ध? मारकाट गरेर एकताबद्ध गर्ने? एकीकरणको कुरा एउटा होला। एकीकरणको समय एउटा होला। एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला। अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति–जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ! पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ! कति पुरातनपन्थी हो? 

यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ– राजर्षि जनकपथ, यलम्बरपथ, मानदेवपथ, अंशुवर्मापथ, चल्लपथ, मल्लपथ! यी चल्लपथ, मल्लपथ, के जाति पथ इतिहासका पथ हुन् कि आजका आवश्यकताअनुसारका? आजका विचारअनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने कि ढाई सय वर्षअगाडिका, आज असान्दर्भिक भएका, त्यति बेलाका महत्त्वपूर्ण कुरा होलान्, आज तिनले बाटो देखाउन सक्दैनन्। 

आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ। बिसे नगर्चीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ? त्यति बेला भयो होला। आज हरेकले उद्यमशीलतामा जान जरुरी छ। हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ। बिसे नगर्ची? हामी राष्ट्रका कुरा गर्दै छौँ। 

पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई त मास्ने कुरा गर्थे त! मासेको होइन? अनि, पृथ्वीनारायाण शाहपछि पनि अनेक रजौटाहरू मासेको होइन? आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ। त्यति बेला मास्नु र एकीकरण गर्नु थियो। अनि, उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ? केके न ल्याएँ भनेर पृथ्वीपथ! १३औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वीपथ! राजा हुने युक्ति अहिले पनि। 

आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो। हामी त्यतै जाँदै छौँ।

ओलीको यो भनाईका कारण राष्ट्र निर्माताको अपमान भएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवम् पूर्वमन्त्री शंकर भण्डारीले आपत्ति जनाएका छन्। 

देशको निर्माण गर्नेप्रति प्रधानमन्त्री ओलीको भावनाले ठेस पुराएको र यस्ता प्रधानमन्त्रीसँग कांग्रेसको सहकार्य लामो हुनु दुषित वातावरण बन्नु रहेको भन्दै सभापति शेरबहादुर देउवाले जवाफ माग्नुपर्ने भण्डारीको माग छ।

यस्तै सांसद राजेन्द्र बजगाँईले पनि गोरखाको अपमान, नेपालको अपमान हुनेगरी प्रधानमन्त्री ओलीको भाषण आएको भनी आपत्ति जनाएका छन्।

यस विषयमा कांग्रेस सभापति देउवाले भने अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन्। तर, कांगे्रसका एक पदाधिकारीका अनुसार ओलीले मनपरी गर्न थालेको बताएका छन्। 

त्यसो त नेता शेखर कोइरालाले सरकार बनेका दिनदेखि नै कांग्रेस एमालेको एजेन्डामा मात्र हिँडेको, आफ्नो अस्तित्व र ताकतमा सरकारमा नरहेको टिप्पणी गर्दै आइरहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति