नेभिगेशन
अर्थ विविध

कुकुर र बिरालोले खाने वस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि

काठमाडौँ - सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् । 

चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको घरपालुवा जनावर कुकुर र बिरालोको खाना आयात हुने गरेको छ ।  त्यस्तै, सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर अब ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । 

पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरेको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ प्रति मेट्रिक टन अन्तःशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाउने भएका हुन् ।


त्यस्तै भेप, इलेक्ट्रिक सिगरेट, हुक्का फ्लेभर पान मसला, माउथ फ्रेसनरमा पनि स्वास्थ्य जोखिम कर लगाएको छ । हालसम्म बिँडीमा प्रतिखिल्ली तीस पैसा र चुरोट, सिगारमा प्रतिखिल्ली साठी पैसा लाग्दै आएकामा इलेक्ट्रिक सिगरेट, भेप, खाने सुर्ती, खैनी, गुट्खा, पान मसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा यस्तो कर लाग्नेछ । 


सासले तान्ने उद्देश्यले विद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका हिटेड टोबाकोमा भन्सार महसुल प्रयोजनको लागि कायम भएको मूल्यको १० प्रतिशत लाग्ने भएको छ । 


त्यस्तै, चिनीको भन्सार १५ प्रतिशत बिन्दुले घटाएको छ । ३० प्रतिशत रहेको भन्सार शुल्कलाई घटाएर १५ प्रतिशत सार्क मुलुक र तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार ३० प्रतिशत रहेकोमा अब १५ प्रतिशत मात्रै बनाएको हो । चिनीसँगै सखर र मिस्रीको भन्सार पनि घटाएको छ । सखर र मिस्रीको भन्सार पनि ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत नै बनाएको छ ।

सरकारले छ्याङ आयात गर्दा लाग्ने भन्सार शुल्क ४० प्रतिशत वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा छ्याङ आयात गर्दा ४० प्रतिशत भन्सार शुल्कलाई सरकारले वृद्धि गरी ८० प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध