नेभिगेशन
राजनीति

रविको पक्षमा हस्ताक्षर गर्दै सीके राउतले भने- अदालतको निर्णय प्रभावित देखिन्छ, रविमाथि राजनीतिक प्रतिशोध भयो

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन्।

उनले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्त परिपक्व नभएकाले अदालतको निर्णय कार्यपालिकाबाट प्रभावित भएको देखिने टिप्पणी गरेका हुन्।

सोमबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेर लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानमा सहभागी हुँदै अध्यक्ष राउतले राज्यले निषेधको राजनीति गर्न नहुने बताएका हुन्।

‘रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले प्रथम पटक गिरफ्तार गर्दा नै उहाँमाथि राजनीतिक प्रतिशोध भयो भन्ने म नै पहिलो राष्ट्रिय अध्यक्ष थिएँ,’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले भने, ‘हाम्रो पार्टीको स्पष्ट धारणा छ, राज्यले यसरी कसैमाथि प्रतिशोध साँध्नु हुँदैन, स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ।’

अदालतको निर्णय स्वतन्त्र रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति लक्षित गर्दै उनले नेपालको राजनीतिक प्रणाली अपरिपक्व रहेको र कार्यपालिकाले न्यायाधीश नियुक्तिमा प्रभाव पार्ने भएकाले न्यायपालिका स्वतन्त्र रहन नसकेको तर्क गरे।

‘यहाँ त हामी हाकाहाकी हेर्छौँ, कसरी अदालत, प्रहरी र व्यवस्थापिका प्रभावित हुन्छ,’ उनले भने, ‘त्यसैले अदालतले भने पनि हामी बुझ्न सक्छौँ कहाँबाट प्रभावित भएको हो।’

उनले हस्ताक्षर अभियान अदालतको निर्णयविरुद्ध नभई, राज्यले मनपरी गर्न नहुने र यदि अदालतको निर्णय कतैबाट प्रभावित भएको छ भने त्यसलाई सच्याउनुपर्छ भन्ने सन्देश दिनका लागि भएको स्पष्ट पारेका छन् ।

आफ्नो हस्ताक्षर हतार वा हौसलामा नभई सोचविचार गरेरै गरिएको बताउँदै राउतले भने, ‘यो हाम्रो पार्टीको समेत धारणा हो। हामीले हिजो सचिवालय बैठकमा पनि छलफल गरेका थियौँ। हामी न्यायका लागि लड्दै आएको पार्टी हौँ, यस्तो अभियानमा हाम्रो साथ र समर्थन रहन्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति