नेभिगेशन
विश्व

भारतीय माओवादीका महासचिव मारिँदा प्रचण्डले विज्ञप्तिसम्म निकालेनन्, बसवराजुको रामकहानी

काठमाडौं– भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का महासचिव बसवराजुलाई त्यहाँको सरकारले मारेको दाबी गरेको छ। यो हताहतीसँगै भारतमा माओवादी नक्सलवादीको प्रत्याक्रमणमा भाजपा सरकारको ठूलो जित घोषणा गरिएको छ। भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका खÞबर बुधबार निकै चर्चामा रह्यो। 

छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको उल्लेख गर्दै छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे।

उनले भने, ‘राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ। नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन्।’

छत्तीसगढकै सुरक्षा बलहरूले भने बुधबार २७ जना माओवादी मारिएको दाबी गरेका छन्। भारतीय प्रहरीका अनुसार बस्तर सम्भागअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा जारी भिडन्तमा ती माओवादीहरू मारिएका हुन्।

यी कारबाहीमा भारतको माओवादी आन्दोलनका शीर्ष नेता बसवराजुको पनि मृत्यु भएको भारतका गृहमन्त्री अमित शाहले पुष्टि गरेका छन्।

भाकपा माओवादीका ठूला नेता मारिँदासम्म नेपालका कम्युनिस्ट पार्टी र खासगरी लिगेसी बोकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्तिसम्म निकालेका छैनन्। 

को हुन् बसवराजु
सन् १९९२ मा पिपुल्स वारको केन्द्रीय समिति गठनको निर्वाचनमा उनी केन्द्रीय सदस्य चुनिए। सोही बेला उनका साथी मुपल्ला लक्ष्मण राव उर्फ गणपति समितिका सचिव बनेका थिए।

उनको पार्टीभित्रको प्रभाव क्रमशः बढ्दै गयो। उनले विभिन्न क्षेत्रहरूमा छुट्टाछुट्टै साना–ठूला नक्सली समूहहरूलाई एकीकरण गर्न थाले। सन् २००४ मा भाकपा (माओवादी) गठनमा उनको पनि महत्वपूर्ण भूमिका रह्यो।

पार्टीको सैन्य कमिटी अर्थात् सीएमसीको उनले नेतृत्व सम्हाले। गुरिल्ला नक्सलीहरूलाई छापामार हमलाको तालिम दिनु र अपरेशनको योजना बनाउनु उनको काम थियो।

गणपति र बसवराजू भारतमा माओवादी आन्दोलनका दुई प्रमुख नाम थिए। 

गणपति वैचारिक मोर्चामा सक्रिय थिए, भने बसवराजू कारबाहीका मोर्चामा। सन् २०१३ मा प्रतिबन्धित पत्रिका पिपुल्स वारमा लेखेका थिए, ‘यदि हामी हाम्रो देशमा भूमिसम्बन्धी समस्याको पूर्ण समाधान गर्न किसानहरूलाई ठूलो मात्रामा र क्रान्तिकारी ढंगले सशस्त्र कृषि क्रान्तिमा संगठित गर्न सक्यौं भने, हामी हाम्रा सबै दुश्मनहरूलाई हराउने र नयाँ जनवादी क्रान्ति पूरा गर्ने आधारभूत शर्तहरू पूरा गर्न सक्नेछौं।’

बसवराजू किसान र मजदूरहरूलाई हातहतियार उठाउन आह्वान गरिरहेका थिए। छत्तीसगढमा सरकारी आक्रमणको प्रतिरोध गर्नेक्रममा सन् २०१७ मा उनी पार्टीमा हाबी हुन थाले र सन् २०१८ मा त उनी महासचिव नै बने। भारतीय सञ्चार माध्यमका अनुसार उनी वैचारिक नेता, सैन्य नीति निर्माता र सशस्त्र संघर्षका योजनाकार थिए। पार्टीका लागि देशभर सशस्त्र युनिटहरू सञ्चालन गर्ने सेन्ट्रल मिलिटरी कमिसनका उनी महत्वपूर्ण हिस्सा थिए।

योसँगै छापामार युद्धमा महत्वपूर्ण मानिने कोडेड सञ्चार प्रणाली र भूमिगत कार्यशैलीका उनी ज्ञाता थिए। उनीविरुद्ध भारतको सबैजसो सैन्य निकायले वर्षौंदेखि खोजी अभियान चलाएका थिए।

भारतीय सुरक्षाकर्मीहरूका लागि ‘मोस्ट वान्टेड’ रहेका उनको टाउकाको मूल्य पनि तोकिएको थियो। उनीसँग माओवादीहरूलाई एकीकृत राख्न संगठनात्मक नेतृत्व दिनसक्ने क्षमता रहेको सुरक्षा निकायको निष्कर्ष छ।

भारत सरकारले दाबी गरेजस्तै कारबाहीमा उनको मृत्यु भएको हो भने भारतको माओवादी आन्दोलनले एउटा वैचारिक नेतृत्व, आन्दोलनको रणनीतिकार, सैन्य नेतृत्व त गुमाएको छ नै। सँगै एउटा गम्भीर मनोवैज्ञानिक धक्का पनि व्यहोरेको छ।

बसवराजुको मृत्यु भारतीय माओवादी आन्दोलनका लागि सन् २००४ पछि आएको सबैभन्दा ठूलो क्षति हो। वैचारिक, सैन्य र संगठनात्मक दृष्टिले उनी शीर्षस्थ नेता मात्र होइनन्, आन्दोलनका लागि प्रेरणा र नियन्त्रण शक्ति पनि थिए। त्यसैले उनको मृत्युले माओवादी आन्दोलनलाई ठूलो वैचारिक, सैन्य र मनोवैज्ञानिक धक्का पुग्नेछ।

नेपालमा पनि विभिन्न टुक्रामा रहेका माओवादी शक्तिले उनको मृत्युबारे आधिकारिक रुपमा मुख खोलेका छैनन्। कतिपयले नेपालको सत्ता राजनीतिमा हावी रहेका कारण र भारतको प्रभावले गर्दा यस प्रकरणमा मुख नखोलेका हुन्।

(बीबीसी हिन्दीको सहयोगमा समायोजित विवरण)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व