नेभिगेशन
अर्थ विविध

तुल्सीपुरमा साढे २३ करोड लागतको खानेपानी आयोजनामा ऋण सम्झौता

काठमाडौँ- नगर विकास कोषले सहलगानी तथा साझेदारी नीति अनुसार दाङ तुलसीपुरको अमृतपुर सहलगानी खानेपानी आयोजना निर्माण गर्न ऋण सम्झौता गरेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि दिएको ठेक्काको लागत २३ करोड ६५ लाख ३९ हजारको २५ प्रतिशतले हुने रकम ५ करोड ९१ लाख ३४ हजार ७ सय ५० रुपैयाँ कोषबाट ऋण लगानीका लागि सम्झौता भएको हो ।

नगर विकास कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डित र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा तुल्सीपुर उपमहानगरपालिका नगर कार्यपालिका प्रमुख टिकाराम खड्काले जमानतकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।

तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर ३, ८ र ९ सेवा क्षेत्र रहेको उक्त आयोजनाका लागि कूल लागतको नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने छ ।

आयोजना निर्माणपछि ४ हजार ९ सय १४ घरधुरीका २२ हजार ५ सय ९६ जनसंख्यालाई चौबिसै घण्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

व्यापार घाटा झण्डै १४ खर्ब