नेभिगेशन
अर्थ विविध

भैरहवा विमानस्थल सञ्चालनमा सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागिरहेको बताएका छन्।

सोमबार २,५६९औं बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीकै कारणले पनि भैरहवा विमानस्थल चल्ने बताए।

उनले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भएर लागु भएको बताए । कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै उनले आगामी जेठ ७ गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने बताए ।

मन्त्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि रहेको बताए। ‘बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ। उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ’, उनले भने, ‘बुद्ध करुणा, ज्ञान, सद्भावजस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ’, उनले भने । मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्व रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध