नेभिगेशन
समाज विविध

रविलाई थुनामा राख्ने उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थाले, विवादमा तानियो अनुसन्धान

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्ने अनुसन्धान प्रतिवेदन तयार पार्नका निम्ति मुख्य प्रमाण मानिने प्रहरीमा परेको उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थालेका छन्।

पूरक उजुरीका आधारमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड धरौटी जिल्ला अदालत रुपन्देहीले गरेको आदेश उल्टाउँदै उच्चले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

तर पूरक उजुरीका ७ जना निवेदनकर्ता मध्य दुई जनाले नाम फिर्ता लिएका छन्। उनीहरुले प्रहरी अनुसन्धानमा समेत प्रश्न उठ्नेगरी सार्वजनिक रुपमा धारणा समेत राख्न थालेका हुन्। 

वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले उजुरी लामिछानेविरुद्ध नभएको बताएका थिए। उनले प्रहरीले नाम दुरुपयोग गरेको समेत बताएका थिए। 

यहि निरन्तरतामा गीता आचार्य नामकी अर्की उजुरीकर्ताले पनि आश्चर्य जनाउँदै नाम फिर्ता लिएकी छन्। उनले पनि लामिछानेविरुद्ध उजुरी नदिएको बरु रकम फिर्ता आउँछ भनेपछि निवेदन दर्ता गराएको बताएकी छन्।

लामिछानेलाई फसाउने नियतले नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा हालिएको रास्वपा नेता–कार्यकर्ताले आरोप लगाउँदै आएका छन्।

गीता सुप्रिम सहकारीकी बचतकर्ता हुन्। आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित बनेको उनको भनाइ छ।

गीताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले अलिकति दैनिक बचत गरेकी थिएँ, त्यसैले आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर निवेदन दिएको हो। तर यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको होइन।’

उनले यसमा थप भनेकी छन्,‘कसैको नाम नै दिएर हालेको पनि होइन र मलाई कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन। तर उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु।’

प्रहरीले भने अनुसन्धान उजुरीका आधारमा भएको र केही मानिसले फिर्ता लिने या प्रश्न उठाएका भरमा प्रभावित नहुने दाबी गरेको छ। तर उजुरीकर्ताले नै प्रश्न उठाएपछि यो प्रकरणमा राजनीतिक प्रतिशोध भएको हुन सक्ने आशंकको सुविधाचाहिँ मिलेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने