नेभिगेशन
विश्व

युक्रेन रुससँग ३० दिनको बिना शर्त युद्धविरामको लागि तयार

काठमाडौँ -रुस र युक्रेनबीच जारी युद्ध अन्त्य हुने सम्भावना देखिएको छ । युक्रेन र उसका सहयोगीहरूले ३० दिने पूर्ण र बिना शर्त युद्धविराममा सहमति जनाएका छन् । युक्रेनका विदेशमन्त्रीले यो युद्धविराम सोमबारदेखि सुरु हुने बताए ।

युक्रेनी विदेशमन्त्री आन्द्रेई त्सिबिहाले युक्रेन र यसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग पूर्ण, बिना शर्त युद्धविरामको लागि तयार भएको बताएका छन् ।


शनिबार, फ्रान्स, बेलायत, जर्मनी र पोल्याण्ड - चार देशका नेताहरू युक्रेन पुगेका थिए । यसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क र बेलायती प्रधानमन्त्री केयर स्टारमर समावेश थिए । उनीहरू सबैले रुसमाथि दबाब बढाउने र युद्ध रोक्ने प्रयासहरूबारे छलफल गर्न राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए ।


जेलेन्स्कीलाई भेट्नुअघि नेताहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, हामी अमेरिकासँगै रुसलाई ३० दिनको पूर्ण र बिना शर्त युद्धविरामको लागि अपील गर्दछौं ताकि न्यायपूर्ण र दिगो शान्तितर्फ वार्ता हुन सकोस् । हामी युद्धविराम लागू गर्न र पूर्ण शान्ति सम्झौताको तयारी गर्न वार्तालाई समर्थन गर्न तयार छौं ।

नेताहरूले भने, रक्तपात अब रोकिनुपर्छ, रूसले आफ्नो अवैध हस्तक्षेप बन्द गर्नुपर्छ र युक्रेनलाई सुरक्षित, सार्वभौम राष्ट्रको रूपमा समृद्ध हुन दिनुपर्छ । नेताहरूले रुस युद्धविरामको लागि तयार नभएमा उसमाथि दबाब अझ बढाइने र युक्रेनलाई सम्भावित सबै सहयोग जारी राख्ने चेतावनी पनि दिएका छन् ।


रुस-युक्रेन युद्ध तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको छ। अमेरिकाले रुस-युक्रेन युद्ध रोक्न निरन्तर दबाब दिइरहेको छ । मार्चमा संयुक्त राज्य अमेरिकाले तत्काल, सीमित ३०-दिने युद्धविरामको प्रस्ताव गरेको थियो जुन युक्रेनले स्वीकार गर्यो, तर रूसले आफ्ना सर्तहरू अगाडी सारेपछि युद्ध विराम हुन सकेको थिएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व