नेभिगेशन
विश्व

नोबेल शान्ति पुरस्कारको लोभमा ट्रम्प, पाकिस्तानपछि इजरायलले पनि सिफारिस गरिदियो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारको लोभमा परेका विवरण यसअघि नै सर्वत्र छन्। उनले विभिन्न मुुलुकमा भएका युद्धमा सिजफायर गराएको दाबी पनि गरिरहेका छन्।

यसकारण उनलाई पहिलो पटक पाकिस्तानले नोबेल शान्ति पुरस्कार प्रदान गर्नका लागि सिफारिस गरेको थियो। अब, इजरायलले पनि सोही सिफारिस गरेको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन्। नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए।

ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन्।

यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग गरेको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो।

यसअघि ट्रम्पले नोबेल पुरस्कार बारे प्रतिक्रिया दिंदै भनेका थिए, ‘मैले कति युद्ध रोकें, जे गरे पनि मलाई नोबेल दिइँदैन। मलाई चार–पाँच पटकसम्म नोबेल शान्ति पुरस्कार मिल्नु पथ्र्यो। तर उनीहरूले मलाई कहिल्यै दिने छैनन्, किनकि उनीहरूले त्यो पुरस्कार केवल लिबरलहरूलाई दिन्छन्।’

नोबेल पुरस्कार २०२६ का लागि आधिकारिक मनोनयन प्रक्रिया सेप्टेम्बरमा सुरु हुने बताइएको छ। २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयनको अन्तिम समय जनवरी ३१ सम्म थियो।

२०२५ को शान्ति पुरस्कारका लागि ३३८ जना मनोनयनमा परेका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्था थिए। सन् २०२३ मा २८६ जना मनोनयन भएका थिए भने सन् २०१६ मा हालसम्मकै उच्च ३७६ मनोनयन भएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व