नेभिगेशन
विश्व

भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

काठमाडौँ - भारतले पाकिस्तानसँग जारी युद्ध बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सुचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायुरक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सुचना फैलाएको बताउदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् । 


भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ । पञ्जाबको फिरोजपुरमा ड्रोनका कारण लगभग २५ वटा विस्फोट भएको र यसमा एकै परिवारका तीन जना घाइते भएका छन् । भारतीय सैन्य बलले आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरेर धेरै आक्रमणहरूलाई विफल पारेको जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा लडाकु विमान, लामो दूरीको हतियार र ड्रोनले आक्रमण गरेको जानकारी दिएकी छन् । पाकिस्तानले बिहान पञ्जाबको एयरबेस स्टेशनमा हाई स्पीड मिसाइल प्रयोग गरेर आक्रमण गर्ने प्रयास गरेको उनले बताइन । पाकिस्तानले नागरिकलाई निशाना बनाएर आक्रमण गरेको आरोप लगाउदै पाकिस्तानले भारतका सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्ने प्रयास गरेपछि, भारतले पाकिस्तानको हतियार डिपो र सैन्य प्रतिष्ठानहरूमा प्रहार गरेर जवाफी कारबाही गरेको उनले बताइन् ।


पत्रकार सम्मेलनमा उनले भारतीय सशस्त्र बल पूर्ण रूपमा तयार रहेको जानकारी दिदै भारतीय सशस्त्र सेना द्वन्द्व बढाउन नचाहेको स्पष्ट गर्दै पाकिस्तानले पनि यस्तै चाहने विश्वास व्यक्त गरेकी छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व