नेभिगेशन
विश्व

८ हजारभन्दा बढी एक्स एकाउन्ट बन्द गर्न भारत सरकारको निर्देशन

काठमाडौँ पाकिस्तानसँगको तनावका बीच, भारत सरकारले ८ हजार भन्दा बढी एक्स एकाउन्ट बन्द गर्न आदेश दिएको छ। यसमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको खाताहरू पनि समावेश रहेको बताइएको छ ।

एक्सले आफ्नो ग्लोबल गभर्नेन्स अफेयर्स खाता मार्फत यो जानकारी दिएको हो । एक्सले आफु यसमा सहमत नभएको र यी पोस्ट र खाताहरू भारतमा मात्र नदेखिने बताएको छ ।

ग्लोबल गभर्नमेन्ट अफेयर्सले आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्ट गरेको छ- 'भारत सरकारले नक्कली समाचार, पाकिस्तानको प्रचार र भारत विरोधी सामग्री (पाठ, फोटो र भिडियो) फैलाउने खाता र पोस्टहरू प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ ।'

सरकारले राष्ट्रिय सुरक्षा र साइबर सुरक्षालाई बलियो बनाउन यो कदम चालिएको बताएको छ । केही खाताहरूमाथि भारतमा अस्थिरता र गलत सूचना फैलाएको आरोप लगाइएको छ ।

यसअघि बिहीबार केन्द्र सरकारले सबै ओटीटी (ओभर-द-टप) र स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्री तुरुन्तै हटाउन निर्देशन दिएको थियो ।

सूचना तथा प्रसारण मन्त्रालयले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पाकिस्तानी सामग्रीमाथि प्रतिबन्ध लगाउने आदेश दिएको । 

त्यसैगरी यसअघि, अप्रिल २७ मा, गृह मन्त्रालयको सिफारिसमा, भारत सरकारले १६ पाकिस्तानी युट्युब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व