नेभिगेशन
विश्व

भारत-पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

काठमाडौं  -पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ।

ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतको हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ ।

बस्तीमा ब्ल्याकआउट

आक्रमण तीव्र भएपछि जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसर तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।

आईपीएलको खेल चलिरहेको बेलामा पनि स्टेडियमको बत्ती केहीबेर निभाइएको थियो । त्यसपछि खेल नै स्थगित गरिएको हो । स्टेडियमबाट दर्शकहरुलाई घर फर्काइएको छ ।

सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि भनेका छन् । स्थानीयवासीहरूका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ र मानिसहरुमा आतंक छ ।

पहलगाम आक्रमणपछि चर्कियो द्वन्द्व

कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो ।

पहलगाम आक्रमणमा बुटवल रुपन्देहीका सुदीप न्यौपाने पनि मारिएका थिए ।
भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूमिका ४ गरी ९ स्थानमा एयर स्ट्राइक गरेको थियो । तीमध्ये पाकिस्तानको बहावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश ए मोहम्मदका एक जना कमाण्डर मसुद अजहरको परिवारका १० जना मारिएका छन् । उनीहरु मारिएको जैश ए मोहम्मदले समेत स्वीकार गरेको छ ।

भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तान सरकारले समेत पुष्टि गरेको छ ।

‘अपरेसन सिन्दूर‘ नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ । अन्धाधुन्ध गोलीबारीका कारण सयौं बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन वा सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् । आक्रमणबाट घर, सवारीसाधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

यति ठूलो आक्रमण सन् २०२१ को २५ फेब्रुअरीमा भएको संघर्षविराम सम्झौताको नवीकरणपछिकै पहिलो भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व