नेभिगेशन
अर्थ विविध

शंकै शंकाले झगडा बढ्दा सेनाका जवानले जंगलमा बोलाएर लिए पत्नीको ज्यान

सुर्खेत– विवाहपछि एक अर्काबीचको शंका बढ्दा ज्यानै जानेसम्मको गम्भीर अपराध भएको छ दम्पतीबीच आंशकाका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुनजिकै २६ वर्षीया प्रेमा ओली खत्रीको हत्या उनैकै श्रीमानले गरेको प्रहरीले जनाएको छ ।

गत शनिबार नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत २८ वर्षीय प्रेमाका श्रीमान् दर्शन खत्रीले गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चुमा प्रेमाका श्रीमानले पठाएका सामान लिन जान्छिन् । खत्रीले प्रेमालाई सामान साथीमार्फत् पठाएको छिन्चु आएर लैजान खबर पठाउँछन् ।

प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइत छाडेर हिँडेकी थिइन् । उनीहरूको विवाह सात वर्षअघि भएको भए पनि पाँच वर्षदेखि उनीहरूको सम्बन्ध राम्रो थिएन । 

प्रेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीय छोरीसहित प्रेमा एक्लै बस्थिन् । उनको माइती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो । उनीहरूको विवाह भएको सात वर्ष भयो ।

‘छोरीलाई घरमा छोड्दा श्रीमानले साथीसँग सामान पठाएकाले लिन जान लागेको जानकारी गराएको प्रेमाका मामा ईश्वर खड्काले बताए ।

‘सामान लिन हिँडेकी भान्जीको शव देख्न पाइएला भन्ने कल्पनासम्म गर्न नसकेको घटना भयो,’ उनले भने, ‘यसरी घटना होला भन्ने कुरा हामीले सोचेका पनि थिएनौँ ।’

साथीमार्फत् सामान पठाएको छु भन्ने खत्रीले बिदा लिएर शनिवार साँझ मात्रै छिन्चु पुगेका थिए । तर प्रेमालाई श्रीमानले आफू केही दिनपछि आउने बताएका थिए । सामान साथीसँग पठाएकाले तिमीबाहेक अरु कसैलाई नपठाउनु भन्दै छिन्चु बोलाएको माइती पक्षले बताएको छ ।

खबरअनुसार प्रेमा घरबाट सामान लिन छिन्चुमा पुग्छिन् । साथीसँग सामान थिएन, बरू खत्री नै शनिबार साँझ ६ः३० बजेतिर छिन्चुमा भेटिन्छन् । दुवैजनाको जम्काभेट हुन्छ । शुरुमा सौहार्दता देखाएका पति र प्रेमाबीच एकैछिनमा झगडा हुन्छ ।

यो झगडा नौलो थिएन । दुवै जनाको सम्बन्धमा खटपट चलेको झण्डै पाँच वर्ष बितिसकेको थियो । साथीसँग सामान पठाएको र लिएर जानु भनेका श्रीमान् खत्री स्वयम् देखिएपछि प्रेमा रिसाएको आंशका उनको परिवारको रहेको छ । 

सामान लिन गएकी प्रेमाले ज्यानै गुमाउनुपर्ला भन्ने कल्पना गरेकी थिइनन् । तर, घटना नसोचेकै भयो । भेट भएको केहीबेरमा खटपट भएका यस्ता कयौँ क्षण प्रेमाले व्यहोरेकी सकेकी थिइन् ।

‘दुवैजनाले एक अर्का माथि गर्ने शंकाले नै शनिबारको घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का बताए । 

‘प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्ने भनिरहने र पतिले खत्रीले पनि प्रेमामाथि शंका गर्दा जंगल पुर्‍याएर हत्या जस्तो गम्भीर अपराध भयो,’ उनले भने, ‘उनीहरुबीचमा त्यही झगडा भएर घटनाले यो रूप लिएको हो ।’ 

दुवैजनाको छिन्चु बजारमा भेटपछि प्रेमा वीरेन्द्रनगरतर्फ आउने बाटोतर्फ लाग्छिन् । शनिबार साँझ ७ बजेतिर उनीहरू दुवैजना झिगेनारा खोलाको पुल तरेर उत्तर-पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन् ।

‘आधा घण्टासम्म झगडा भयो । सम्झाउने अनेक प्रयत्न गर्दा प्रेमाले नमानेपछि कुटेको प्रारम्भिक अनुसन्धानमा खत्रीले बयान प्रहरी प्रमुख खड्काले बताए । ‘झण्डै आधा घण्टा ९७ः३०० सम्म जंगलमै बसेको र पछि प्रेमाको टाउकोमा ढुंगाले हानेपछि लडाए छन्’, उनले भने ।

रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफैँ मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन् ।

खत्री शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । प्रेमाको हत्या आफू एक्लैले गरेको र आशंका नै मुख्य कारण भएको बयान खत्रीले दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रेमासँग विवाह भएको शुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र विस्तारै बढी शंका गर्दा पाँच वषैदेखि सम्बन्ध राम्रो नभएको बयानमा भनेका छन् ।

२०८१ भदौ असोजतिर खत्री बिदामा घर आएका थिए । घर आएको बेला प्रेमाले स्थानीय एक महिलासँग कुरा गरेको फेला पारेको प्रहरीले जनाएको छ । प्रेमाले खत्रीलाई छोरी हुर्किँदै छन् । जिम्मेवार भएर परस्त्रीसँग कुरा गर्ने भनेर भएको विवाद माइतीसम्म पुगेको थियो । माइती पक्षले सम्झाएर घटना मत्थर पारेको उनका मामा मामा ईश्वर खड्काले बताए । 

आइतबार दिउँसो थाकल खान जंगल गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले शव उठाउन हतार नगरी कुकुरसहितको टोली मगाएर थप अनुसन्धान गरेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्का, डीएसपी मोहनजंग बुढथापा, इलाका प्रहरी कार्यालय छिन्चु र केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको प्राविधिक टोली छिन्चु पुगेको थियो ।

साँझ मात्रै आफन्त घटनास्थल पुगेर शवको पहिचान गरेका थिए । प्रहरीको अनुसन्धान सिधै प्रेमाका श्रीमानतिर जोडियो । प्रहरीले उनको खोजी गरेर तत्कालै घरबाटै पक्राउ गर्यो ।

प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका खत्रीले शुरूमा इन्कारी बयान दिएको प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाइ नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याएपछि उनले हत्या स्वीकार गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध