नेभिगेशन
विश्व

युरोपका अन्य मुलुक जाने रहरमा पोर्चुगलमा लुकेका नेपालीसहितलाई समस्या, यस्तो छ कारण

काठमाडौं– युरोपका विभिन्न मुलुकमा छिरेर भाविष्य बनाउने योजनासहित रकम तिरेर पोर्चुगलमा अवैधानिक हिसाबले बसेका नेपालीसहितका विदेशी नागरिकलाई समस्या हुने भएको छ।

पोर्चुगलले मध्यावधि निर्वाचनअघि १८ हजार विदेशीलाई देश निकाला गरी सम्बन्धित मुलुकमा डिपोर्ट गर्ने निर्णय गरेको छ।

अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो।

पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ।

चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ। 

यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ। सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ। त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ। त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ।

पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ। अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ। 

पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको सरकारी अधिकारीसहित मन्त्रीले ठम्याएका छन्। उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ। 

युरोपका अन्य देशहरू जस्तै पोर्चुगलमा पनि दक्षिणपन्थी सोच बढ्दो छ। विज्ञहरूका अनुसार, दक्षिणपन्थ, राष्ट्रवाद र जनप्रियवाद (पपुलिज्म) को भावना बलियो बन्दै जाँदा राष्ट्रिय राजनीतिमा असर परेको छ। 

मार्च २०२४ मा सम्पन्न चुनावमा धुर–दक्षिणपन्थी शेगा पार्टीको जनाधार बढेको थियो र १८ प्रतिशत भोट ल्याउँदै पोर्चुगलको तेस्रो ठूलो पार्टी बनेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व