नेभिगेशन
विश्व

सिंगापुरका प्रधानमन्त्री वोङको शानदार जित, पीएपीलाई दुई तिहाइ बहुमत

काठमाडौँ - सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ र उनको पार्टी, पिपुल्स एक्सन पार्टी (पीएपी) ले आम चुनावमा ९७ मध्ये ६५ सिट जितेका छन्, जुन सरकार गठन गर्न आवश्यक दुई तिहाइ बहुमत हो । 

विपक्षी वर्कर्स पार्टीले ६ सिट जितेको छ र ४ सिटमा अगाडि छ । बाँकी सिटहरूमा पीएपीले अग्रता लिएको छ ।

अमेरिकी ट्यारिफ नीतिका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता रहेको समयमा वोङ र उनको पार्टीले शानदार जित हासिल गरेको हो । पीएपी सिंगापुरको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो राजनीतिक दल हो र देशको स्वतन्त्रतादेखि नै निरन्तर सत्तामा छ । अब फेरि एक पटक पीएपीलाई यो समृद्ध देशलाई अर्को पाँच वर्षसम्म चलाउने स्पष्ट जनादेश मिलेको छ ।


शनिबार, २६ लाख सिंगापुरवासीले ९२ सिटका लागि मतदान गरेका थिए । वोङ प्रधानमन्त्री बनेपछि यो पहिलो चुनाव थियो। सिंगापुर एक विश्वव्यापी व्यापार केन्द्र हो र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण उत्पन्न चुनौतीहरूको सामना गर्नुपरेको छ ।


मार्सिलिङ-य्यू टी निर्वाचन क्षेत्र जितेपछि, वोङले चुनाव आफ्नो लागि पहिलो पटकको अनुभव भएको बताए । उनले जनताको लागि कडा परिश्रम गर्ने वाचा गरे । 'हामी तपाईंको बलियो जनादेशको लागि आभारी छौं र तपाईंले हामीमाथि राख्नुभएको विश्वासको प्रतिफल दिन कडा परिश्रम गर्नेछौं,' ५२ वर्षीय प्रधानमन्त्री वोङले भने ।

यो चुनावलाई प्रधानमन्त्री लरेन्स वोङको लागि पहिलो ठूलो परीक्षा मानिएको थियो, किनकि उनी गत वर्ष मात्र देशको प्रधानमन्त्री बनेका थिए । सिंगापुरमा पीएपी विगत ६६ वर्षदेखि सत्तामा छ र विपक्षीले सरकारको कडा नीति र मुद्रास्फीतिप्रति जनताको आक्रोशको मुद्दा उठाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व