नेभिगेशन
राजनीति

उपप्रधानमन्त्री सिंहले भने- निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।

सोमबार निर्वाचन क्षेत्रमा एक मन्दिर शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताएका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए ।

‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेशन सही रूपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि जिकिर गरेका छन् ।

आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजसेवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ ।

‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भए पनि नभए पनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जीविकोपार्जन सहज बनाउन दलहरू मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै