नेभिगेशन
खेलकुद

भारत र न्यूजील्याण्ड २५ वर्षपछि उपाधि भिडन्तमा आमनेसामने, रेकर्ड यस्तो छ

काठमाडौँ - आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार भारत र न्युजिल्याण्डबीच हुदैछ । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

२५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन् । भारत र न्युजील्याण्ड दुई पटक आईसीसी प्रतियोगिताको फाइनलमा भिडेका छन् । दुई टोलीले अन्तिम पटक २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एकअर्कासँग खेलेका थिए । वर्षाका कारण छ दिनसम्म चलेको सो खेलमा न्युजील्याण्डले भारतलाई पराजित गरेको थियो ।

रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो । त्यो खेलमा, सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टोलीले गांगुलीको ११७ रन र सचिन तेन्दुलकरको ६९ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर २६४ रन बनाएको थियो । जवाफमा, स्टीफन फ्लेमिङको कप्तानीमा रहेको न्युजील्याण्डले लक्ष्य सफलतापूर्वक हासिल गर्यो । न्यूजील्याण्डका लागि सो खेलमा क्रिस केर्न्सले ११३ बलमा अविजित १०२ रन बनाए र भारतबाट जित खोसेका थिए ।

न्युजील्याण्डले लामो समयदेखि आईसीसी उपाधिको प्रतिक्षा गरिरहेको छ । त्यसबेलादेखि, न्युजील्याण्डले अहिलेसम्म आईसीसीको ह्वाइट बल प्रतियोगिता जितेको छैन । न्युजील्याण्ड २०१५ र २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो तर दुवै पटक पराजित भएको थियो । अब, उनीहरूले अर्को फाइनलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीसँग सामना गर्नेछन्, जुन प्रतियोगितामा अपराजित रहँदै उपाधि खेलमा पुगेको छ ।

मार्च २ मा, भारत र न्यूजील्याण्ड बीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो । यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो । च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै, वरुणले पाँच विकेट लिए र न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त पारेका थिए ।

एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

हङकङ चाइनासँग नेपाल पराजित