नेभिगेशन
खेलकुद

बी डिभिजन लिग फुटबलको तयारी पूरा

काठमाडौं- यही फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबहरुमा आरसिटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड व्वाइज क्लब, व्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लव, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बांसवारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती यूथ क्लब, वीरगंज युनाइटेड क्लव, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिप्रेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले तीन महिना बी डिभिजन लिग सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । तर क्लबहरुले भने लिग चाँडै सकाउन माग गरेका थिए । एन्फा प्रवक्ता शाहले बि डिभिजन लिग २०८२ साल जेठ २५ गतेसम्म गर्ने भनेर निर्णय गरेको बताए ।

बी डिभिजन लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछन् । यसैगरी फेयर प्ले टिमले १ लाख पाउनेछ भने उत्कृष्ट खेलाडीले पनि १ लाख हात पार्नेछ ।

उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् भने हरेक खेलको प्लेअर अफ दि म्याचले ७ हजार ५०० पाउनेछ । यस्तै हरेक खेलको विजेता टोलीले थप २५ हजार पाउनेछ भने बराबरी भए दुवै टिमले १०-१० हजार पाउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द