नेभिगेशन
खेलकुद

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं - केपी ओली कपको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ । तेस्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मछिन्द्र २–० ले विजयी हुँदै नयाँ कीर्तिमान बनाएका हो। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र विदेशी खेलाडी स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । 

खेलको २९औँ मिनेटमा सनिसले गोल गरे । पेनाल्टी क्षेत्रबाहिर राइट साइडबाट सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भयो । 

७३औँ मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । जलीले मलिक युसुफको क्रसमा गोल गरे । 

यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । 

प्रतियोगिताको सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई २–१ ले हराउँददै फाइनल प्रवेश गरेको हो । मछिन्द्र फुटबल क्लबले आयोजक केपी एफसीलाई ४–० ले पराजित गरेको थियोे । 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेता बनेसँगै मछिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा चित्त बुझाएको आर्मीले पाँच लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल पाएका छन् । 

प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटालीका लिजेण्ड तथा विश्व विजेता गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द