Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधवकुमार नेपाल नजिकका दुई विकल्पः लुरुक्क एमाले फर्किने, खुरुक्क प्रचण्डसँग एकता

मंगलबार, माघ ८, २०८१

काठमाडौं– आफूतिर तानिन लागेका बामदेव गौतम एमालेमा फर्किने निधो भएपछि अब नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग जम्मा दुई विकल्प बाँकी छन्।

samridhi jewllers

जिल्ला तहमा संगठन निर्माण गर्न पनि सक्षमता नभएका उनी नेतृत्वका कतिपय नेता फेरि एमालेतिर फर्किने चर्चाले ति विकल्पबाहेकमा उनी उभिन नसक्ने सम्भावना देखिन्छ। 

एमाले झलनाथ खनालदेखि रामकुमारी झाँक्रीसम्मलाई रातो कार्पेट ओछ्याउन तयार छ। ति नेताले पनि कार्पेटमा हिँड्ने चाहना अभिव्यक्त गरिरहेका छन् परोक्ष रुपमा। 

एमाले महासचिव शंकर पोखरेलले हालै भनेका थिए,‘माधवकुमार नेपालबाहेक नेकपा एसका सबैलाई पार्टीमा स्वागत हुन्छ।’

यस्तो अवस्थामा माधवकुमार नेपालसँग दुई विकल्प छन्, लुरुक्क एमाले फर्किने कि खुरुक्क नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरी एकतामा जाने। 

२०७८ भदौ २ गते माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएर बनेयताको ३ वर्षमा नेकपा एस निरन्तर त्रासमा चल्दै आएको छ। अध्यादेश जारी गरेर उनले एमाले विभाजन गरेका थिए। ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद बटुल्न नसकेपछि तत्कालिन सरकारले २० प्रतिशतमा निर्वाचन ऐन झारेर माधवकुमार नेपालका लागि नै अध्यादेश जारी गरेको थियो। 

कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन्। 

वामदेवले उत्साह जगाएर धेरै नेता कार्यकर्ता ल्याउने आश्वासन नेपाललाई दिएका थिए। वामदेवले मलाई अभिभावक ठान्ने ठूलो पंक्ति छ भनेपछि नेपालले उनको फोन नै उठाउन छाडेका थिए। यति मात्र होइन बामदेव एमालेमा जाने वातावरण त समाजवादी प्रेस संगठन प्रेस चौतारीमा बिलय भएदेखि नै पक्कापक्की बन्यो। 

नेपाल ३ वर्षमा त्रासमा रुमल्लिएको यो पहिलोपटक होइन। बलियो पार्टी बनाउनका लागि भिम रावललाई नेकपा एसमा ल्याउन खोजिएको थियो। तर रावलले आफैं अभियान चलाउन लागि परेपछि त्यो च्याप्टर पनि क्लोज बन्यो। 

उता प्रत्यक्ष निर्वाचन जितेका प्रेमबहादुर आलेसम्मले नेकपा एकीकृत समाजवादी छाडिसके। यसैकारण पनि माधवकुमार नेपालसँग खासै बलिया विकल्प नरहेको बताइन्छ।

अध्यक्ष नेपालले एमालेमा १५ बर्ष नेतृत्व गरेका थिए। जब नवौं महाधिवेशनमा प्रधानमन्त्री रहेका केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्वाचित भए उनी किनारातिर परेका थिए। 

माओवादीसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा प्रचण्डको बलमा सचिवालयमा पुगेका नेता नेपाल बरियतामा कहिले तेस्रो त कहिले चौथोंमा परेका थिए। तर निर्णायक भएनन्। 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्