Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरको एउटै वडाले चार महिनामा उठायो साढे १० करोड राजस्व

मंगलबार, पुस ९, २०८१

काठमाडौ - काठमाडौं महानगरपालिकाको वडा नम्बर १० ले चालू आर्थिक वर्ष ०८१/८२ को मंसिर मसान्तसम्म साढे १० करोडभन्दा बढी राजस्व उठाएको छ। 

samridhi jewllers

१० वडाले चालू आव पहिलो चार महिनामा १० करोड ५७ लाख ४५ हजार ८ सय ७२ रुपैयाँबराबर राजस्व उठाएको हो।

वडाले चार महिनाको अवधिमा २ करोड ७ लाख ४४ हजार १ सय ७९ रुपैयाँ खर्च गर्दा दोब्बर राजस्व उठाएको हो। वडासचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहाल कर ६ करोड ३० लाख ३७ हजार ४ सय ४४ रुपैयाँ संकलन भएको छ।

दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६ सय २६ र तेस्रोमा व्यवसाय रजिस्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९ सय ६० रुपैयाँ संकलन भएको छ।

‘चालू आर्थिक वर्ष वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ,’ वडाध्यक्ष रामकुमार केसीले भने, ‘पुँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौँ। त्यसका लागि अहिले थालिएका काम सकिए मात्र पनि पुग्छ।’

सुविधा वितरणमा चुनौती रहेको उनको भनाइ छ। ‘परिवार बस्न बनाएको घरमा होस्टल चलाउन दिएर सैयौँ व्यक्ति बस्ने अभ्यास मौलाएको छ। पाँचजना बस्ने ठाउँमा ५० जना बस्न थालेपछि खानेपानी कम हुन थालेको छ। ढल निकासको चाप बढेको छ। होस्टलमा कहाँबाट को आउँछ, को कता जान्छ थाहा नभएर असुरक्षा बढेको छ,’ वडाध्यक्ष केसीले भने, ‘यसकारण घरधनीहरूलाई पैसाको मात्र मुख नहेर्न, आवासीय भवनमा व्यावसायिक होस्टल राख्दा हुने नकारात्मक प्रभाव महसुस गर्नुपर्ने वेला भएको छ।’

चालू आवका लागि वडामा ८२ वटा कार्यक्रम स्वीकृत छन्। जसअन्तर्गत सडक कालोपत्र गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सिसिटिभी क्यामरा जडान गर्ने, मर्मत गर्ने, पर्खालमा रङरोगन गर्ने, मन्दिर, ढुंगेधाराजस्ता सम्पदा क्षेत्र संरक्षण गर्ने, नदी सफाइ, प्रवेशद्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवालगायत छन्।

वडाध्यक्ष केसीका अनुसार वडाले अहिलेसम्म जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सिपमूलक तालिमजस्ता कार्यक्रम सञ्चालन गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्