सिप मेला २०८१ : बैशाख २० गतेपछि फाराम भर्नेलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा समावेश गरिने

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ - ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । 

तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ । 

२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । 

यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन । वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी छ ।

यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सिप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए । 

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्