एमालेभित्र किनारामा पारिएका नेता

डिलमा उभिएर रमिता हेरिरहेका भिम रावल

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं– नेकपा एमालेले केही दिन अघि केन्द्रीय परिषद बैठक गरी विभिन्न निर्णय पनि गरेको थियो। सबै नेता र प्रतिनिधिले समूहमा बसेर छलफल गरे। तर, भिम रावलले निम्तो समेत पाएनन्। 

एमाले राजनीतिमा निक्कै पुरानो बिरासत बोकेका नेता भिम रावल अहिले किनारामा पारिएका छन्। 

एमाले नेतृत्वमा केपी शर्मा ओलीको उदयसँग उनको जिम्मेवारी खोसिएको छ भने बेवास्ता गरिन थालिएको छ । 

एमाले विभाजनका बेला माधवकुमार नेपालको पक्षमा नलागी ‘नेपाल–ओली’ मिलाउने १० भाईको लिडर थिए उनी। जीवनको उर्जाशील समय एमालेमा बिताएको तर यसका विसंगतीको कुरा गरे पनि पार्टी विभाजनको विपक्षमा उभिएर १० बुँदे समझदारीपत्र बनाउन भूमिका खेलेका उनी नेकपा एकीकृत समाजवादीमा लागेनन्। 

बरु एमालेमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग १०औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिए। यसपछि झनै उनलाई किनारामा राख्न थालियो। ओलीको पक्षमा लागेका उनकै १० जनाको समूहका योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता भने पदाधिकारी छन् र जिम्मेवारीमा पनि रहेका छन्। 

उनीजस्तै फरक मत राखी लामो समयसम्म एमालेमा रहेका घनश्याम भुसाल भने एकीकृत समाजवादीमा गए। अहिले उक्त दलको महासचिव पदमा रहेका छन्। तर त्यसबेला पनि एकीकृत समाजवादीले रावललाई बोलाएको थियो। उनी एमाले नछाड्ने अडानमा नै रहे। 

राष्ट्रवादी चरित्रका रावलले यसअघि सुदूरपश्चिमको कमान्ड सम्हालेर एमालेका कार्यकर्ता र संगठित सदस्यहरू बढाउने काम गरेका थिए। ‘रावललाई नराम्रोसँग किनारामा राखिएको छ। पेलेर राखिएको छ। जिम्मेवारी दिइएको छैन। यो हदसम्मको हेला गर्नुहुन्न’, एमालेका एक नेता भन्छन्,‘राजनीतिमा फरक मत र बिमति भन्ने राखिन्छ। प्रचण्डसँग काटाकाटको अवस्था आउँदा पनि फेरि मिल्न हुने तर रावललाई जिम्मेवारी दिन नहुने यो कस्तो राजनीति हो?’

सम्भवतः यहि कारण पनि रावल निक्कै प्रताडित भएका छन्। उनले एउटा कार्यक्रममा त कुन बेला अन्यत्र हाम फाल्न सक्ने संकेत पनि दिए। ‘म निक्कै किनारामा परेको छु, पारिएको छ। कहाँ जाने हो, भन्ने खास निर्णय पनि हुन सक्छ। तर, तत्काल गर्दिन’, रावलले भने। 

नेकपामा खटपट सुरु भएपछि रावल ओलीको कदमविरुद्धको कटाक्षमा उभिएका नेता थिए। एमालेमा रहँदा पनि उनी संसदमा ओलीका गलत कामको बिरोध गर्ने नेतामा गनिन्थे। एक पटक पार्टी मुख्यालय च्यासलमा ओलीसँग उनको भेट हुँदा केही नयाँ जिम्मेवारी पाउन सक्ने आँकलन गरिएको थियो। तर, ओलीले त्यसो गरेनन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्