खेलकुदमन्त्री र विश्व ट्रायथलनको अध्यक्षबीच भेट

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ - युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ । आज नेपाल आइपुग्नुभएकी कसाडो र मन्त्री श्रेष्ठबीच सिंहरदबारस्थित युवा तथा खेलकूद मन्त्रालयको कार्यकक्षमा भेट भएको हो ।

भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ट्रायथलनको विकासको लागि हुनसक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी छ । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।

कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहनुभएको छ । उहाँको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ १० वर्ष अगाडि नेपाल आउनुभएको थियो । उहाँ शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुने कार्यक्रम रहेको छ । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दाबढी खेलाडीको सहभागीता रहनेछ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्