त्रिविले उत्तरपुस्तिका हराएको विषयमा मन्त्री सुमनाले भनिन्- यस्ता घटनाहरूबारेमा हामी जानकार रहेका छौँ

बिहीबार, चैत १५, २०८०

काठमाडौं - शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएपछि नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार रहेको बताएकी छन् । उनले आज आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखिकि छिन्, "नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौँ । यसबाट परिक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति सबै सजग र संवेदनशील हुनै पर्छ ।

उत्तरपुस्तिका हराएका परिक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन् । यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।

यसका लागि त्रि. वि. सभा तथा कार्यकारी परिषदको सचिवालयले गठन गरेको समितिले निष्पक्ष, निर्भिक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।"

त्रिविले स्नातक तहको प्रथम वर्षको दुई वटा विषयको उत्तरपुस्तिका हराएपछि चैत २१ गतेदेखि पुनः परीक्षा लिने कार्यतालिका सार्वजनिक गराएको छ ।

यसैबीच त्रिविले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्