बोर्ड हराएपछि बालेनको दनक– जनताका आवाज नसुन्नेले १० फिट लामो ५ फिट चौडा बोर्ड चै देखेछन्

बुधबार, चैत १४, २०८०

काठमाडौं– कलंकीदेखि महाराजगञ्जसम्म काठमाडौं महानगरपालिकाले जानकारीका लागि राखेको बोर्ड हराएपछि मेयर बालेन्द्र साह (बालेन)ले निर्माण कम्पनी लक्षित गरी अर्को टिप्पणी गरेका छन्। 

बुधबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले व्यंग्यात्मक टिप्पणी गरेका हुन्। 

‘बोर्ड हराएको सूचना’ जारी गर्दै उनले लेखेका छन्, २०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ।’

उनले अगाडि लेखेका छन्,‘स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन। कसैको दुख हेरिएको थिएन। काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ। तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो। त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ।’

बालेनले व्यंग्य गर्दै लेखेका छन्,‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्। समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन्। 

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको सडकबारे बालेन अगाडि लेख्छन्,‘अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न’ । यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन्। समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्।’

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्