लोपोन्मुख नौ बाजा सम्मेलन

आइतबार, चैत ११, २०८०

भक्तपुर - अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजाहरु नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले होलीको अवसर पारेर मध्यपुर थिमिमा आयोजना गरेको नौ बाजा सम्मेलन सम्पन्न भएको छ ।

केन्द्रीय मानन्धर सङ्घले सुरु गरेको लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुर थिमिको क्वलाखु क्षेत्रमा आयोजना गरेको सम्मेलन आज सम्पन्न भएको हो । परम्परागत नौ मौलिक बाजा र सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने गरिन्छ ।

बौद्धमार्गी नेवारले संरक्षण गरेको नौ बाजालाई सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास रहेको छ । श्रृंगभेरि उपदानको कथा र स्वयम्भू पुराणमा उल्लेख भएको नौ बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा छन् ।

सङ्घले पहिलो पटक नेकू, पस्ताः, धाः, चति, डबडब, नगरा, खिं, पच्छिमा, प्वङा, ताः, भुस्या, छुस्या, पस्ता, नाय्खिं, धिमेचा, बे लगायतका बाजालाई पृथक ताल र बोलमा प्रदर्शन गरेको छ ।

सम्मेलनमा भक्तपुरको साःक्वलान, गोलमढी र तेखाच्व टोल, बनेपाको वांख्यो र क्वसाः दाफा भजन खलः तथा मध्यपुर थिमिको सिवा सायमि खलःले नौ बाजा प्रदर्शन गरेका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्