वातावरण जोगाउन जल सतह बचाउन आवश्यक

बिहीबार, चैत ८, २०८०

काठमाडौँ - काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ । ‘विश्व पानी दिवस’को सन्दर्भमा  सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आज यहाँ आयोजित ‘हिटी प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औँल्याउनुभएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौको हिटी (ढुङ्गेधारा) प्रणालीलाई बचाउनुपर्छ भन्नुभयो ।  

उहाँले हिटी प्रणाली भूमिगत र वर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिटी संरक्षणविद् पद्मसुन्दर जोशीले भन्नुभयो,“नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ती’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । हितिहरुमा पाइने शिलालेखहरुमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमूत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने नियम उल्लेख छ ।”    
    
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उद्धृत गर्दै संरक्षविद् जोशीले उपत्यकामा पाँच सय ७३ हिटी प्रणाली भएको बताउनुभयो ।ती मध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् । ४ प्रतिशत हराइसकेका छन् । महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनःस्थापना गर्ने यसको लक्ष्य हो । चालु आर्थिक वर्षमा यसका लागि रु बीस करोड विनियोजन गरिएको छ  । 

कामपाको सहयोगमा अलान फाउन्डेसनले यसैवर्ष हिटीको विद्यमान अवस्थाका बारेमा अध्ययन गरेको थियो । अध्ययन गएको मङ्सिर महिनामा सार्वजनिक भएको थियो ।  यो अध्यायनले महानगरपालिकाभित्र एक सय ५४ वटा ढुङ्गेधारा रहेको, त्यसमध्ये ६१ वटा (४०%) पानी आउने, ५० वटा (३२%) पानी नआउने, सङ्कटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६%), हराएका २१ वटा (१४%) र फेला नपरेका (नभेटिएका) १२ वटा (८%) रहेको उल्लेख गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्