हामी बालेनका लौरो भन्नेहरू बागमती प्रदेशमा निर्णायक, तर सरकारमा नजाने

बिहीबार, चैत १, २०८०

काठमाडौं– बागमती प्रदेश सभाको राजनीति पेचिलो चरणमा प्रवेश गरेको छ। यसको कारण हो फागुन २१ मा एमाले–माओवादीसहित बनेको गठबन्धन। 

सो गठबन्धन बनेपछि बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।

सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अब मुख्यमन्त्री जम्कट्टेलले आफूलाई प्रदेश सभाका बहुमत सदस्यको समर्थन रहेको प्रमाणित गर्नुपर्छ।

फेरिएको राजनीति गठजोडसँगै बागमती प्रदेश सभाको राजनीतिक अंक गणित पनि रोचक बनेको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउनका लागि न्युनतम ५६ जनाको समर्थन आवश्यक पर्छ। 

प्रदेश सभामा ७ पार्टीहरूको उपस्थिति छ। सत्तारूढ गठबन्धनमा रहेका एमालेसँग, माओवादी र एकिकृत समाजवादीसँग क्रमशः २७, २१ र ७ गरि ५५ सांसद पुग्छन्। सत्तागठबन्धनबाट बाहिर रहेका राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसदहरू रहेका छन्। 

सत्ता गठबन्धनलाई बागमतीमा सत्ता जोगाउनका लागि राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट समर्थन आवश्यक पर्छ। तर राप्रपाले प्रदेश सभामा कसैलाई समर्थन नगर्ने बताइसकेको छ भने नेमकिपाले पनि प्रतिपक्षमा रहने बताएको छ। यसैले ‘हामी बालेनका लौरो’ भन्दै लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीतिर सत्ता गठबन्धनको नजर र आकर्षण बढि परेको छ।

पहिले समर्थन गरेका कारण पनि बढि आश लौरोसँग छ । तर, शालिकराम जम्कट्टेलको सरकारलाई सत्ता बाहिर बसेर नै यस अगाडि लौरोले समर्थन गरेको थियो। 

लौरोका प्रवक्ता रोहन कार्कीले क्यानडानेपालसँग भने, ‘ढुक्कले काम गरोस् भनेर हामीले यस अगाडि सरकारलाई समर्थन गरेका थियौँ। हामीलाई मन्त्री चाहिएन तर स्थिर सरकार र काम गर्ने सरकार चाहियो भन्ने शर्तमा मात्रै हामीले समर्थन गरेका थियौँ।’

प्रवक्ता कार्कीका अनुसार सरकारमा जाने र मन्त्री भइहाल्ने पार्टीको कार्यदिशा नरहेको तर समर्थन गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीमा आन्तरिक छलफल भइरहेको छ। 

उनले भने, ‘हामीलाई मन्त्रीकै अफर नआएको होइन। दुईटा मन्त्रालय नै पनि तपाईहरूलाई भयो भन्ने किसिमका अफरहरू आएकै हुन्। तर हाम्रो उद्देश्य मन्त्री बन्ने मात्र होइन। पुराना त पुराना भइहाले, नयाँ भनिएका रास्वपा, उन्मुक्ति र जनमत समेत सत्तामा दौडेर पुगिहाल्ने प्रवृत्तिका शिकार भइरहेका छन्। यस्तो अवस्थामा देशमा प्रतिपक्ष पनि चाहिन्छ भन्ने विचार पार्टीमा बलियो छ।’

कार्की अगाडि जोड्छन्,‘हामी एउटा प्रदेशमा त्यसमा पनि सानो संख्यामा रहेका छौँ। देशभरका लागि बलियो प्रतिपक्ष बन्न नसकौँला तर बागमतीबाट हामी वास्तवमै पुराना प्रवृतिका बिरोधी र त्यसबाट अलग छौँ भन्ने सन्देश दिन चै सक्छौँ ।’
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्