शालिन मृत्यु प्रकरण

शालिन मृत्यु प्रकरण : सुसाइड नोट परीक्षण रिपोर्टमा मृतकको अक्षर ‘म्याच’

मंगलबार, फागुन २२, २०८०

काठमाडौँ– चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको सुसाइड नोट परीक्षण रिपोर्ट चितवन प्रहरीलाई पठाइएको छ ।

केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले मृतक शालिन पोखरेलको सुसाइड नोटको परीक्षण रिपोर्ट आज चितवन प्रहरीलाई पठाएको हो । 

विधिविज्ञान प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार सुसाइड नोटमा लेखिएको अक्षर र १४ वर्षीया पोखरेलको अक्षर ‘म्याच’ भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विधिविज्ञान प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टमा ‘कमन अथर’ लेखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले भने ,‘मृतकको अक्षर र घटनास्थलमा भेटिएको नोटको अक्षर समान रहेको परीक्षणबाट देखिएको छ ।’ 

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् । पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ । तर उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन् । 

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्