शरदसँग अंश मुद्दा जितेपछि ‘फ्लप’ अभिनेत्री निशाका आफ्नै तर्क र दाबी

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– नेपाली फिल्म उद्योगमा खासै नचलेकी अभिनेत्री निशा अधिकारी यतिबेला मिडियाको नजरमा परेकी छन् । अमेरिकामा छोरा जन्माएपछि काठमाडौंमा जाँदै आउँदै गरेकी उनी चर्चामा आउनुको कारण अंश मुद्दा जित्नु हो ।

हुन त उनका बारेमा बेलामौकामा अनेक हल्ला नचलेका होइनन् । आफैं पनि अनेक हत्कण्डामा रमाउने उनले केही समयअघि निशा अधिकारी मल्ल भनेर चिनाउने कोशिश गरिन् । मल्ल किन लेखेको भन्ने प्रश्नमा आमाको थर मल्ल भएका कारण राखेको भन्ने तर्क थियो।कहिले कपाल मुडुली बनाएर मिडियामा आउने गरेकी उनका किस्सा अनेक छन् । 

फिल्म क्षेत्रमा आउँदा उनको अफेयरको चर्चा निरक पौडेलसँग थियो । निरक गोपीकृष्ण हलका मालिक उद्धवका छोरा हुन्। यसपछि चर्चामा आउन उनले अनेक हत्कण्डाको सहारा लिइन् । सगरमाथा आरोहण पनि विवादमा परेको थियो। भरिया बनेर आरोहीको प्रमाणपत्र लिएको भन्ने चर्चा थियो । 

पछि क्रिकेटर शरद भेष्वाकरसँग उनको प्रेमपछि बिहे भयो । बिहेको केही बर्षमा डिभोर्स नगरी अंश मुद्दा हालेपछि एक पटक मिडियामा छाएकी निशालाई जिल्ला अदालतले साथ दियो। मुद्दा जितेपछि उनले केही तर्क र दाबी गरी सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याइन् ।

उनले अंशको विषयको चर्चाबीच केही प्रतिक्रिया नदिए पनि मुद्दा जितेपछि भने केही बुँदामा नै प्रष्टोक्ति राखिन् ।

यो मुद्दा बाहिर आएदेखि विभिन्न टिका टिप्पणी र गाली पनि खाँदै आएको हुँदा मेरा केही कुरा भन्दै उनले बुँदागत रुपमा लेखेकी छन्–

  • कानुनमा आमा र बुवा दुवैको सबै कुरा भाग लाग्ने व्यवस्था छ। मैले किन कानुनी उपचार लिएको भन्ने विषय व्यत्तिलगत हो।
  • मेरो छोराको बुवा र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ। 
  • तसर्थ एकअर्काको धन सम्पत्तिमा दुवैको नजर नरहेको कुरा छ। 
  • छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान छ। तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा पनि नितान्त व्यक्तिगत हो।
  • लिभ इन पिस गरेपछि रेस्ट इन पिस हुने हो। मर्नुअगाडि मेरो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा म ढुक्कसँग मर्न पाउने मात्र होइन, यो कुरामा मलाई गर्व पनि छ। 
  • बाँकीका कुरा कानुन संशोधन भएर धेरै अगाडि आइसक्यो। कानुनी उपचार लिएर कुराहरु सुल्झाउने प्रविधिलाई नर्मलाइज गरौं। समाजमा हानी नहुनेगरी आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य र स्वतन्त्रता पनि हो । यस विषयमा धेरै कुराहरु गर्न सकिन्छ । अरुको जुत्ता नलगाएसम्म त्यो जुत्ताले दिने पिडाको हेक्का हुँदैन। त्यसैले कृपया आफ्ना बालबालिका र नातीनातिनाको भविष्यका लागि के गर्नुपर्छ निर्धक्क रुपमा गरौं र गर्न दिऔं। अझ पनि कानुनमा संशोधन गर्न पर्ने थुप्रै कुराहरु बाँकी छन् । भएकै कुराहरु बुझेर उपयोगमा नल्याएसम्म सामाजिक रुपान्तरण धेरै सुस्त गतिमा अगाडि बढ्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्