सुरक्षा प्रमुखको आकस्मिक बैठक

गृह मन्त्रालयमा सुरक्षा प्रमुखको आकस्मिक बैठक जारी

सोमबार, फागुन १४, २०८०

काठमाडौँ– संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएकाे सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक चलिरहेको छ ।

अहिले गृह मन्त्रालयमा चलिरहेको आकस्मिक सुरक्षा बैठकमा गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेको घटनाबारे जानकारी मागेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी छन् ।

त्यस्तै, मन्त्रालयका शान्ति सुरक्षा सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई लगायत पनि बैठकमा छन् । 

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेरअघि नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्