अभिनेत्री निशा अधिकारीले छोरोको भाग अंश नपाउने, शरदले हारे मुद्दा

सोमबार, फागुन १४, २०८०

पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरेको छ।

नायिका निशाले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो।

उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। यी दम्पतीका पाँच वर्षका एक छोरा छन्। निशाले छोरा आफूसँगै रहेको भन्दै तीन भागको दुई भाग सम्पत्तिको दाबी सहित मुद्दा हालेकी थिइन्।

निशाले आफ्नो अंश मात्र पाउने अदालतले फैसला गरेको हो। छोराको अंश भने बालिग नहुन्जेल निशा र शरद दुवैको संरक्षणमा हुने फैसलामा उल्लेख छ। नाबालक छोराको संरक्षणको दायित्व पनि आमाबुबा दुवैको बराबर हुने फैसलामा उल्लेख छ।  

विवाह भएको केही समयसम्म पारिवारिक जीवन राम्ररी चलेपनि पछि पति शरदले नराम्रो व्यवहार गरेको भन्दै निशाले अंश मुद्दा हालेकी हुन्। उनले अदालतमा दिएको फिरादपत्र अनुसार आफ्नो र छोराको शिक्षा, स्वास्थ्य लगायतको दायित्व पूरा गर्न बारम्बार आग्रह गर्दा पनि जिम्मेवारीबाट पन्छिएकाले अंश मुद्दा हाल्नुपरेको हो।

अंश नपाउन्जेल मासिक ५० हजारका दरले आमाछोरा दुई जनाका लागि एक लाख रुपैयाँ खर्च दिन समेत माग गरिएको थियो। निशा र छोरालाई अंश नदिउन्जेल मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने भनी अदालतले फैसला गरेको छ।

शरदले अदालतमा दिएको जानकारी अनुसार निशा २०७५ मंसीरदेखि आफूखुशी माइत बस्दै आएकी हुन्। छोराको स्कूलको मासिक खर्च १० हजार रुपैयाँ आफूले बेहोरिरहेको पनि शरदले खुलाएका छन्। २०७६ फागुनसम्म आफूले निशालाई साढे ११ लाख रुपैयाँ खर्च दिएको पनि अदालतमा शरदले बताएका छन्। 

आफ्नो भन्दा निशाको आम्दानी राम्रो भएकाले मासिक खर्च नदिलाउन उनले अदालतमा आग्रह गरेका थिए। तर अदालतले शरदको अपील अस्वीकार गर्दै अंश नपाउन्जेल मासिक खर्च दिन भनेको हो।

शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै चलचित्रमा अभिनय गरेकी कलाकार हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए। शरदले अदालतमा दिएको उत्तरमा निशाले अंश लिएर छुट्टै बस्न चाहनु आफ्ना लागि स्वीकार्य भएको बताएका छन्।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्