दादुरा–रुवेलाको सङ्क्रमण

दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

बुधबार, फागुन ९, २०८०

काठमाडौँ– सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताए । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ ।

उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । 

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताए ।

उनका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

उनले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्