क्यानडाद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा भारी कटौती, नेपाली विद्यार्थीलाई कस्तो प्रभाव पर्छ?

मंगलबार, माघ ९, २०८०

काठमाडौं– क्यानडा सरकारले अध्ययनका लागि जाने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा योसहित अर्को बर्षसम्मका लागि भारी कटौती गरेको छ।

अध्यागमन मन्त्रालयमार्फत भएको यो घोषणाका कारण अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थी समेत प्रभावित हुने भएका छन्। अध्ययनसहित रोजगारीको समेत अपेक्षा राखेर क्यानडा जाने नेपालीको संख्या उल्लेख्य हुने गरेको थियो। 

क्यनडाका सञ्चारमाध्यमका अनुसार ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन्। सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो। यस बर्षको अवस्थाका आधारमा आगामी बर्षको मुल्यांकन हुने पनि बताइएको छ। सन् २०२५ सम्मलाई यो अवस्थाले निरन्तरता पाउने सक्ने बताइन्छ। 

क्यानडाको ओन्टारियो प्रान्तमा भने ५० प्रतिशतले कटौती गरिएको छ। एक दशक अघिको तुलनामा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन संख्या तीन गुणाले बढेको क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले बताएका छन्। २०२२ मा ८ लाखको संख्यामा रहेका विद्यार्थी २०२३ मा ९ लाखमा पुगेका थिए।  

मन्त्री मार्क मिलरले सोमबार एक कार्यक्रममा यसबारे जानकारी दिएका हुन्। संघीय सरकारको मन्त्रिपरिषद्को सोमबारदेखि मन्ट्रियलमा सुरु बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको छ। 
नयाँ नीतिअनुसार स्नातक र कलेज प्रोग्रामहरूमा अध्यनरत विद्यार्थीका डिपेन्डेन्ट (जीवनसाथीहरू) ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन योग्य हुनेछैनन्।

अब प्रत्येक प्रान्त र क्षेत्रहरूले दुई वर्षका लागि आईआरसीसीबाट २ वर्षको लागि सीमित संख्या पाउनेछन्। त्यसलाई उनीहरूले स्वीकृति प्राप्त शैक्षिक संस्थाहरूबीच बाँड्नुपर्नेछ।

विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र पनि समावेश गर्नुपर्छ। प्रान्त र क्षेत्रहरूले मार्च ३१, २०२४ सम्ममा विद्यार्थीहरूलाई यस्ता पत्र दिने प्रणाली व्यवस्थित गरिसक्नुपर्छ। यो नियम २२ जनवरीदेखि लागू भएको छ। 

आईआरसीसीले सन् २०२४ को अन्त्यमा यस नीतिको समीक्षा गरिसक्नेछ र २०२५ मा नयाँ संख्या सीमा निर्धारण गर्नेछ ।

सेप्टेम्बर १, २०२४ देखि, पाठ्यक्रम इजाजतपत्र प्रबन्ध अन्तर्गत अध्ययन सुरु गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातक तहको अध्ययन सकेपछि स्नातकोत्तर वर्क पर्मिटको लागि योग्य हुनेछैनन् ।

विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा आवास, यातायात लगायतका सेवाहरूमा समस्या देखिएका छन् भने रोजगारीका समस्या औंल्याएर निर्णय गरिएको हो। 

नेपालबाट क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीले कम्तिमा स्नातक तहको अध्ययन सकेर क्यानडाको लागि निवेदन दिएको राम्रो हुने बताइन्छ।

क्यानडाको नयाँ नीतिका बारेमा अध्येताहरूसँगको परामर्श गरेर मात्र अप्लाई गर्दा राम्रो हुने सुझाव पनि आएका छन्।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्