चिनियाँ महिला कुटिएको प्रकरण

गोरखबहादुरको स्पष्टीकरण– माओवादी केन्द्रका महासचिव गुरुङ फन्टुस हुन्, अरु के–के भनेछन्

शनिबार, माघ ६, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङ फन्टुस भएको उत्तर दिएका छन् । स्थायी समितिले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले गुरुङ भ्रष्ट समेत भएको आरोप लगाएका छन्।  

भूकम्पपीडितलाई राहत दिन पुगेको चिनियाँ टोलीमाथि गोरखबहादुरले कुटपिट गरेको र मुकदर्शक समेत बनेको आरोप लागेको थियो। 

माओवादी केन्द्रको गत पुस २८ गते बसेको स्थायी समिति बैठकले गोरखबहादुरलाई ‘लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने’ निर्णय गरेको थियो।

गोरखबहादुरले भनेका छन्,‘यो स्पष्टीकरणको प्रसंग बुझ्न मंसिर २० गतेको घटनामा पुग्नुपर्छ। जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा रहेको केसीको घरमा चिनियाँ कम्युनिष्ट पार्टीले भूकम्पपीडीतलाई बाँड्नका लागि राहत सामाग्री राखेको थियो। उक्त राहत सामाग्री माओवादी केन्द्र मार्फत नै पीडितलाई बाँड्ने चिनियाँ पक्षले जनाएको थियो।’ 

उक्त राहत सामग्रीमा गडबड भएको भन्दै अघिल्लो दिन नै गोरखले प्रश्न उठाएका थिए । ‘राहत सामाग्री आठबिसकोटमा बाँड्नुपर्नेमा प्रदेश अध्यक्ष विमला केसीले सानीभेरीमा बाँडिन्’, गोखरबहादुरले भनेका छन्।

उक्त विवाद हात हालाहालको अवस्थासम्म पुगेको थियो। गोरखले स्पष्टीकरणमा उक्त कुरा स्वीकारेका छन्। यस विषयमा उनले चिनियाँ महिला आफ्नै घरमा सामानको गोदाम राखेर आफ्नैविरुद्धमा उत्रेपछि विवाद भएको केसीले स्पष्टीकरणको जवाफमा लेखेका छन्।

यसपछि उक्त विवाद स्थानीय प्रहरी चौकीमा मिलाइएको थियो। पछि महासचिव गुरुङ र अध्यक्ष विमला केसीको दबाबमा जाजरकोट प्रहरी चौकीमा आफूविरुद्ध मुद्दा दर्ता गर्न दबाब दिएको गोरखको भनाइ छ।
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्