‘माओवादी’ फुर्को हटाउन जनार्दशन शर्माको प्रस्ताव, अन्य विषय के–के छन्?

मंगलबार, माघ २, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नामबाट ‘माओवादी’ भनी जोडिएको फुर्को हटाउन प्रस्ताव गरेका छन्। त्यसको विकल्पमा उनले नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम प्रस्ताव गरेका हुन्। 

हालै भएको पार्टीको स्थायी समितिको बैठकमा शर्माले पार्टी कमिटीभित्र पनि स्थानीय, प्रदेशदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित प्रणालीबाट नेतृत्व चयनसम्मको प्रस्ताव शर्माले गरेको उच्च स्रोतले जनाएको छ। 

यो प्रस्ताव केन्द्रीय समितिमा समेत लैजाने शर्माको तयारी रहेको छ। स्थापना कालदेखि माओवादीको फुर्को हटाइएको छैन। एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी हुँदा माओवादी भन्ने फुर्को हटेको थियो। तर सर्वोच्च अदालतले एमालेसमेतलाई ब्युँताउँदै एकीकरण भंग गरिदिएपछि माओवादी पनि ब्युँतियो।

‘बृहत एकीकरण गरेपछि माओवादीको नाम परिवर्तन गर्ने प्रस्तावमा अध्यक्ष प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ, अझ उहाँले समाजवादी पार्टी नै बनाउने कुरा राखिसक्नुभएको थियो’, एक नेता भन्छन्,‘यो प्रस्तावका रुपमा भने उपमहासचिव शर्माले लिएर आउनुभएको छ।’

यसबाहेक शर्माले पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्न, सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्न पनि प्रस्ताव गरेका थिए।

पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्नुपर्ने मत शर्माको छ। 

सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउनुपर्ने,  जिल्ला समितिको कार्यक्षेत्र : वैचारिक राजनैतिक/संगठन निर्माण, सुदृढिकरण तथा परिचालन/आर्थिक उत्पादन रोजगारी/विकास निर्माण र सरकार सम्बन्धी काम/सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय/अनुगमन र मूल्याङ्कन हुनुपर्ने पनि उनको मत छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्