पृथ्वी जयन्ती 

राजा बन्नुअघि नै पृथ्वीनारायण शाह उपत्यकामा शासन गर्ने रणनीतिमा थिए, सफल बनाए

शुक्रबार, पुस २७, २०८०

काठमाडौं– आधुनिक नेपालका निर्माताका रुपमा मानिने वडामहाराजधिराज पृथ्वीनारायण शाहको एकीकरणका कारण नै मुलुक सार्वभौम स्वतन्त्र कायम रहेको मानिन्छ। 

उनको जन्मदिनको अवसरलाई पृथ्वी जयन्तीका रुपमा देशव्यापी रुपमा मनाइएको छ। खासगरी उनले स्थापना गरेका ५ डफ्फा नै नेपाली सेनाको पनि इतिहास रहेको मानिन्छ। यसैकारण सेनाले पृथ्वी नारायण शाहलाई प्रतीकका रुपमा मान्ने गरेको छ। 

उसले यस अवसरमा प्रतिमा गोरखाबाट काठमाडौंसम्म ल्याउने गरेको पनि छ। 

मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि पृथ्वीनारायण शाहको सान्दर्भिकता कायम रहेका कारण हटाइएको पृथ्वी जयन्तीको विदा पुनः दिइएको छ। 
स–साना बाईसी र चौबिसी राज्यको एकीकरण गरी नेपाल बनाएका पृथ्वीनारायण शाहका दिव्यपोदेश पनि चर्चित छन्। र, उनले शासन गर्न चाहेको काठमाडौं उपत्यकाको विषय पनि रोचक छ। उनले नै उपत्यकालाई राजधानी घोषणा गरेका थिए।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको निधन भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए। 

उनले प्रचलित नियमअनुसार आफू राज–सिंहासनमा रहने बित्तिकै माहिला भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा पदवी दिएका थिए। आफ्ना मुख्यमन्त्री र सेनापति भर्ना गर्नलाई यस अघिका काजी विराज थापा बृद्ध भैसकेका हुनाले एक योग्य नवयुवकको खोजी गरिरहेका थिए। 

गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनैलाई कज्याईँ दिई मुख्यमन्त्री बनाएका थिए।

राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहन सहन राम्रोसँग अध्ययन गरिसकेका थिए। त्यसैबेला उनले काठमाडौं उपत्यका जितेर राजधानी बनाउने सपना बुनेको बताइन्छ। 

पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरेका थिए जसअनुसार दुवै राज्यबीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो।

विस्तारै नुवाकोटमा बिजय र किर्तिपुर समेत जितेपछि उनी काठमाडौं उपत्यका प्रवेश गर्न सफल भएको मानिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्