राजनीति

माधव नेपाललाई थुम्थुम्याउने प्रचण्ड प्रयत्नको कारण

शुक्रबार, पुस २०, २०८०

काठमाडौंसत्ता गठबन्धनको बिहीबारको बैठकमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निक्कै सम्झाउने कोशिश गरे। राष्ट्रिय सभाको आगामी निर्वाचनमा एमालेलाई पनि उसको हैसियतअनुसारको सिट दिएर टीआरसी विधेयकमा सहयोग लिन सकिने सुनाए पनि अध्यक्ष नेपालले सहमति जनाएनन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेलाई सिट दिने विषयमा सहमत भए पनि अध्यक्ष नेपालले सहमति जनाउन नसक्दा राष्ट्रिय सभाको भागबन्डा टुङ्गो लाग्न सकेन। जबकि, आइतबारसम्ममा निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता अनिवार्य हुनुपर्छ।

प्रचण्ड गठबन्धनमा एमालेसँगको सहकार्य नगरी नहुने बाध्यतामा रहेका कारण माधवकुमार नेपाललाई थुम्थुम्याउने काममा लागेका छन्। समाजवादी मोर्चाको संयोजक समेत रहेका अध्यक्ष नेपाललाई अनौपचारिक रुपमा पनि एमालेले टीआरसी विधेयकमा दिइरहेकोचेकलाई बुझिदिन भनेको उच्च स्रोतले जनाएको छ।

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पारित गराउनका लागि एमालेको सहयोग अनिवार्य छ। यसैकारण पनि राष्ट्रिय सभामा उसलाई सिट दिनुपर्ने बाध्यतामा सत्ता गठबन्धन पुगिसकेको छ। त्यसको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको अडानले काम बिगार्न सक्ने माओवादी नेताहरूको बुझाई छ।

राजनीतिमा आवेग होइन लचकता पनि अनिवार्य हुनुपर्छ। जसरी अध्यक्ष प्रचण्डले स्वभाविक मानेर देशमा शान्ति प्रक्रियाको अन्तिम काम पूरा गर्ने अठोट लिनुभएको , माधव नेपालजीले पनि सहयोग गर्न आवश्यक , एक स्थायी समिति सदस्य भन्छन्,‘यो माधव नेपाल केपी ओलीको प्रतिष्ठाको लडाई होइन, यो शान्ति प्रक्रियाको निचोडको काम हो।

एमालेसँगको सहकार्यको विषय आएपछि कांग्रेस नेता डा. शेखर कोइरालाले पनि कटाक्ष गरेका थिए। कोशीमा एमालेसँगको सहकार्यमा आपत्ति जनाएको गठबन्धन आफ्नै संस्थापन पक्षका नेताप्रति कटाक्ष गर्दै उनले भनेका थिए,‘कसैलाई टीआरसी विधेयक कसैलाई कतिपय काण्ड मिलाउन पनि एमालेसँग सहकार्य गर्नु परेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्