बलिउड अभिनेत्रीहरूको अश्लील र आपत्तिजनक 'डीपफेक' भिडिओ कसरी फैलिन्छ

बुधबार, पुस १८, २०८०

बीबीसी–  एक बलिउड अभिनेत्री क्यामरातिर फर्किएर अश्लील हाउभाउ देखाइरहेकी छन् भने अर्की अभिनेत्री लगभग निर्वस्त्रजस्तै छिन्।

तर खासमा यी दुवै दृश्य वास्तविक हैनन्।

केही सातादेखि एकपछि अर्को गर्दै डीपफेक भिडिओ भाइरल भएका छन्। तिनमा नाम चलेका अभिनेत्रीको जस्तै अनुहार देखाइएको छ।

रश्मिका मन्दाना, प्रियङ्का चोपडा जोनस र आलिया भट्ट त्यस्ता आपत्तिजनक भिडिओको निसानामा परेका केही कलाकार हुन्।

ती भिडिओमा अरू कसैको अनुहार र आवाज हटाएर उनीहरूको अनुहार र आवाज दुरुस्त देखिने गरी राखिएको हुन्छ। प्रायः सामाजिक सञ्जालबाट तस्बिरहरू निकालेर अनुमति बिना नै प्रयोग गरिन्छ।

बलीवुडमा डीपफेक भिडिओ बढिरहनुको कारण के हो त?

पुरानो चलन तर एआई सुलभ भएपछि अझै सहज

'डीपफेक' बनाउने चलन नयाँ होइन। त्यस्ता सामग्रीको तारोमा प्रायः चर्चित हस्तीहरू पर्छन्।

"अहिलेसम्म हलीवुडले त्यसको दुष्प्रभाव भोगेको थियो," एआईविज्ञ आरती समानीले बीबीसीसँग भनिन्। न्याटली पोर्ट्मन र इमा वाट्सनजस्ता अभिनेत्रीहरू पनि डीपफेकको सिकार बनेका छन्।

आर्टिफिशल इन्टेलिजन्स (एआई)का क्षेत्रमा भएको उन्नतिले मानिसको नक्कली अडिओ र भिडिओ बनाउन अझ सजिलो भएको उनी बताउँछिन्।

"विगत छ महिनादेखि एक वर्षका बीचमा एआई टूलहरू धेरै परिष्कृत भएका छन्। त्यसले हामीलाई अरू देशमा त्यस्ता सामग्री किन बढिरहेका छन् भन्ने बताउँछ," समानीले भनिन्।

"त्यहाँ धेरै टूलहरू उपलब्ध छन् जसले तपाईँलाई कम वा खर्चबिनै वास्तविकजस्तो देखिने कृत्रिम तस्बिरहरू बनाउन सघाउँछन्। त्यसो हुँदा यी सजिलै पहुँचयोग्य हुन्छन्।"

भारतमा डीपफेक फैलिनुमा केही विशिष्ट कारकहरूको भूमिका रहेको उनी औँल्याउँछिन्। ठूलो जनसङ्ख्या रहेको युवा पिँढी, सामाजिक सञ्जालको अत्यधिक प्रयोग अनि "बलीवुडमोह र सलेब्रटी कल्चरप्रतिको अनुराग" ती कारक भएको उनको ठम्याइ छ।

"परिणामस्वरूप भिडिओहरू द्रुत गतिमा फैलिन्छन् र समस्या बढ्छ," उनी भन्छिन्। त्यस्ता भिडिओ बनाउन प्रेरित गर्ने कुराहरू दुई गुना भएको उनको ठहर छ।

"बलिउड हस्ती देखिने सामग्री एउटा आकर्षक क्लिकबेट बन्छ, विज्ञापनबाट ठूलो कमाइ हुन्छ। त्यस्तो सामग्री प्रकाशित भएपछि अन्तरक्रिया गर्ने मानिसहरूको डेटा बेचिने जोखिम पनि हुन्छ, तर त्यो उनीहरूलाई थाहा हुँदैन।"

'अत्यन्त भयानक'

प्राय: अश्लील भिडिओहरूका निम्ति नक्कली तस्बिरहरू प्रयोग गरिन्छ। तर नक्कली भिडिओ जेबाट पनि बनाइएको हुन सक्छ।

हालै कालो रङ्गको कसिलो पहिरन लगाएकी एक महिलाको भिडिओमा २७ वर्षीया अभिनेत्री मन्दानाको अनुहार राखिएको एउटा भिडिओ इन्स्टाग्राममा देखा पर्‍यो। उक्त भिडिओ भाइरल भयो।

तर 'अल्ट न्यूज'का एक पत्रकारले तथ्यजाँच गर्दै त्यो डीपफेक भिडिओ भएको औँल्याइदिए।

मन्दानाले त्यस घटनालाई "अत्यन्त भयानक" भन्दै मानिसहरूलाई त्यस्तो सामग्री शेअर नगर्न आग्रह गरिन्।

हालै चर्चित अभिनेत्री प्रियङ्का चोपडा जोनसको एउटा भिडिओ पनि भाइरल भएको छ।

त्यो भिडिओमा उनकै अनुहार छ तर एउटा कुनै सामानलाई प्रवर्धन गर्ने गरी उनको हटाएर अर्कैको आवाज राखिएको छ। त्यो भिडिओमा लगानी गर्ने तरिकाहरू पनि सिकाइएको छ।

अभिनेत्री आलिया भट्ट पनि नक्कली एउटा भिडिओका कारण चर्चामा आइन्। त्यो भिडिओमा उनको जस्तै अनुहार देखिने एक महिलाले क्यामराअगाडि उभिएर विभिन्न अश्लील सङ्केत गरेको देखिन्छ।

अभिनेत्री कट्रिना कैफसहित अन्य कलाकारहरू समेत नक्कली भिडिओ बनाउनेहरूको सिकार बनेका छन्।

'टाइगर थ्री' चलचित्रको एउटा दृश्यका लागि उनले तौलिया मात्र लगाएकी थिइन्। त्यो तस्बिरमा उनको कपडा फेरेर शरीर अझ खुल्ला देखिने बनाएको थियो।

अरू पनि छन् पीडित

डीपफेकबाट बलीवुड अभिनेत्रीहरू मात्र प्रभावित भएका छैनन्। हालै ख्यातिप्राप्त उद्योगी रतन टाटालाई पनि निसाना बनाइएको छ। टाटाको अनुहार देखिने एउटा डीपफेक भिडिओमा लगानीबारे सल्लाह दिइएको देखिन्छ।

तर यो प्रवृत्तिले खास गरी महिलालाई असर गरिरहेको छ ।

अनुसन्धान फर्म सेन्सिटी एआईको अनुमानअनुसार सबै डीपफेकमध्ये ९० देखि ९५ प्रतिशतबीच बिनाअनुमति बनाइएका अश्लील सामग्री हुन्छन्। तीमध्ये अधिकांशले महिलालाई निसाना बनाउँछन्।

मलाई यो डरलाग्दो लाग्छ," भारतीय प्रविधि सेवा तथा परामर्श कम्पनी विप्रोका गोपनीयतासम्बन्धी ग्लोबल चीफ अफिसर इभाना बार्टोलेटीले भनिन्।

"महिलाहरूका लागि यो निकै समस्याकारी छ किनभने यसलाई प्रयोग गरेर अश्लील र हिंसाका तस्बिरहरू सिर्जना गर्न सकिन्छ। अनि त्यस्ता सामग्रीको बजार छ भन्ने कुरा हामी सबैलाई थाहा छ।"

"यो सधैँ समस्या थियो, यो फैलिरहेको गति र ती टूलको उपलब्धताको विषय अहिले झन् आश्चर्यजनक बनेको छ।"

डीपफेकको समस्या "महिलाहरूको लागि साँच्चिकै खराब" रहेको कुरामा समानी सहमत छिन्।

"महिलाको महत्त्व प्रायः सौन्दर्यको मापदण्डसँग जोडिएको हुन्छ र महिलाको शरीरलाई वस्तुको रूपमा हेरिन्छ," उनले भनिन्।

"डीपफेकले यसलाई अझ बल दिँदै अगाडि बढाएको छ। डीपफेकको गैरसहमतिपूर्ण स्वभावले महिलाहरूलाई उनीहरूको शरीरको आत्मसम्मान र स्वायत्तताबाट वञ्चित गर्छ। यसले त्यो शक्तिलाई खोसेर अपराधीहरूको हातमा दिन्छ।"

नियन्त्रण गर्न आह्वान

डीपफेक भिडिओ फैलिन थालेपछि सरकार र प्रविधि कम्पनीहरूलाई त्यस्ता सामग्री नियन्त्रण गर्न आह्वान गरिएको छ।

भारत सरकारले निर्वाचन हुने वर्ष सुरु हुन लागेपछि डीपफेकलाई नियन्त्रण गर्न कारबाही थालेको छ।

मन्दानाको भिडिओ भाइरल भएपछि देशका सूचनाप्रविधिमन्त्री राजीव चन्द्रशेखर डीपफेकविरुद्ध बोलेका थिए।

"मिथ्या सूचनाको यो सबैभन्दा नयाँ र अझ खतरनाक एवम् हानिकारक रूप हो। यसलाई सम्बन्धित मञ्चहरूले हेर्नुपर्छ।"

भारतमा सूचनाप्रविधिसम्बन्धी नियमानुसार सोशल मिडियाका मञ्चहरूले "कुनै पनि प्रयोगकर्ताबाट गलत जानकारी पोस्ट गरिएको छैन" भन्ने सुनिश्चित गर्नुपर्छ।

पालना नगर्ने मञ्चहरूलाई भारतीय कानुनअन्तर्गत अदालत पुर्‍याउन सकिन्छ।

तर बार्टोलेटी यो समस्या भारतमा मात्र सीमित नभएको औँल्याउँदै विश्वभरि अरू देश पनि यो विषयलाई समाधान गर्न लागिपरेको बताउँछिन्।

"यसमा केवल बलीवुड कलाकारहरू छैनन्। डीपफेकले नेता, व्यवसायी र अरूलाई पनि निसाना बनाएका छन्," उनले भनिन्।

"विश्वभरि धेरै सरकारहरू चुनावमा लोकतान्त्रिक उपस्थितिजस्ता अन्य विषयमा डीपफेकहरूले पार्न सक्ने प्रभावलाई लिएर चिन्तित हुन थालेका छन्।"

सामाजिक सञ्जालका मञ्चहरूलाई उत्तरदायी बनाउन आवश्यक रहेको र सक्रिय रूपमा डीपफेक सामग्री पहिचान गर्दै हटाउनुपर्ने उनको धारणा छ।

समानीले यो समस्या समाधान गर्न पुरुषको सहयोग पनि "निकै महत्त्वपूर्ण" हुने बताइन्।

"पीडितहरूले चासो र कारबाहीको माग गरेका छन्, तर निकै थोरै पुरुषहरू यस विषयविरुद्ध बोलिरहेका छन्," उनले भनिन्।

"पुरुषहरूबाट थप सहयोग चाहिन्छ।"

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्