अर्थतन्त्रमा प्रतिकूल अवस्था

बजार मागमा अपेक्षित सुधार हुन सकेन : उद्योग परिसङ्घ

सोमबार, पुस १६, २०८०

काठमाडौँ– निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सिएनआइ)को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । 

पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको  छ  ।  

उपभोक्ता बजार मागमा देखिएको सङ्कुचनमा अपेक्षित सुधार हुने नसकेको परिसङ्घको अध्ययनले देखाएको हो । 

परिसङ्घले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा गिरावट आएको देखिएको हो । विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरी यो प्रतिवेदन तयार पारिएको परिसंघले जनाएको छ । आज यहाँ एक औपचाकि कार्यक्रमकाबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्षदेखि नै उद्योगी–व्यवसायीको मनोबल कमजोर बनिरहेकोमा यसवर्ष पनि यथावत रहेको बताए ।

सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आवको सोही अवधिमा थप १२ दशमलव ०६ प्रतिशतले घटेको देखिएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योगहरूको समग्र मागमा ३६ दशमलव ९३ प्रतिशतले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । उद्योगको कारोबार रकम गत आवको पहिलो त्रैमासमा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आवको समान अवधिमा सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा यो ३० दशमलव ५४ प्रतिशतको सङ्कुचन हो ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी–व्यवसायीले आफ्नो लगानीका योजना स्थगित गरेको जनाएका थिए भने चालु आवको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना  लगानीका योजना स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसङ्घको बुझाइ छ ।

परिसङ्घको अध्ययनअनुसार सिमेन्ट उत्पादक उद्योगको समग्र मागमा अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सात दशमलव ३६ प्रतिशतको सङ्कुचन आएको छ । पछिल्लो तीन वर्षमा सिमेन्टको समग्र मागमा ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको अध्ययनबाट देखिन्छ ।

सर्वेक्षणअनुसार निर्माण व्यवसाय क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष १६ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ । आव २०७८÷७९ को तुलनामा चालु आव २०८०÷८१ मा यस क्षेत्रको समग्र मागमा कूल ५२ दशमलव ५९ प्रतिशतले सङ्कुचन आएको पाइएको छ । निर्माण व्यवसाय क्षेत्रका उद्योगको कारोबार रकम अघिल्लो वर्ष ४३ दशमलव ७१ प्रतिशतले घटेकोमा चालु आवको सोही अवधिमा थप २० दशमलव ८० प्रतिशतले घटेको परिसङ्घले जनाएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा साना तथा मझौला क्षेत्रको माग दुई दशमलव ५० प्रतिशतले बढेकोमा यस वर्षको सोही अवधिमा १७ दशमलव ७० ले गिरावट आएको देखिएको छ । यस क्षेत्रको समग्र मागमा अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६४ ले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२ दशमलव २५ प्रतिशतले बढेकोमा चालु आवको सोही अवधिमा १८ दशमलव ५० प्रतिशतले घटेको छ । –रासस

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्