तमु ल्होसार अर्थात् नयाँ बर्षको सुरुआत र महत्व

आइतबार, पुस १५, २०८०
  • गौरी तमु

यस वर्ष गुरुङ समुदायले ह्युई ल्हो (बिरालो वर्ग) को बिदाइ र मुप्रि ल्हो (गिद्ध वर्ग) को स्वागत गर्दै मुप्रि ल्होसार/ल्होछार मनाउँदै छन् । पुस १५ मा गुरुङ समुदायमा नयाँ वर्गसगै नयाँ समत्व पनि सुरुवात हुने भएकाले ल्होसार/ल्होछारलाई नयाँ वर्षका रूपमा पनि मनाइन्छ ।

यस दिनलाई गुरुङहरू आफ्नो गुरु प्रथम महापुरुषको जन्मदिवसका रूपमा पनि मनाउँछन् । तमू (गुरुङ) हरूले ल्होसारलाई संसारको जुनसुकै कुनामा रहे पनि गुम्बा, क्होईवो र समाज घरहरूमा भेला भएर विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लाससाथ मनाउँछन् । गुरुङ समुदायका लागि ल्होसार नयाँ वर्ष मात्रै नभई स्योकै (वनभोज) खाने स्योंरा क्ल्योबा (भैलो खेल्ने), सिल्दो नाल्दो (सिमेभूमे) खे (पितृ) मा (मातृ) तथा फैलु (कुल) पूजा गर्ने, आर्थिक कारोबार गर्ने तिथिमिति, वर्षभरिको शुभ–अशुभको चयन गर्ने दिनसमेत हो । ल्होसार गुरुङ समुदायको आस्था हो, विश्वास हो, संस्कृति हो, पहिचान हो र सिंगो जीवनदर्शन हो ।

हिन्दु पात्रोमा १२ वटा राशिको महत्त्व रहेजस्तै गुरुङ पात्रोमा जनावर र चराहरूबाट नामकरण गरिएका १२ वटा ल्हो (वर्गहरू) को विशेष महत्त्व हुन्छ । ल्हो चक्रमा प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ ल्हो (वर्ग) का रूपमा नयाँ वर्षको सुरुवात हुन्छ । गुरुङहरू यही पात्रोअनुसार नै आफ्नो उमेर गणना गर्छन् । शुभ–अशुभ, फाप्ने–नफाप्ने पत्ता लगाई लामा र पच्यु शास्त्रअनुसार नै पूजापाठ, ग्रहशान्तिदेखि जन्म, विवाह र मृत्यु संस्कारसम्मका कार्यहरू गर्छन् । पुस १४ गते रातिदेखि नै गुरुङ युवायुवती ल्होसार/ल्होछारको स्वागत गर्न आगो बालेर नाचगान गर्दै जागा बस्छन् र रातको ठीक १२ बजे पुरानो ल्हो (वर्ग) को बिदाइ र नयाँ ल्होको स्वागत गर्छन् । १५ गते बिहानै गुरुङ पोसाकमा सजिएर गुम्बा र क्होइवो (मन्दिर) हरूमा गई पूजापाठ गरी लम्, पच्यु गुरुहरूद्वारा रिपा, खदा लगाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

स्वदेश तथा विदेशमा आयोजना गरिने तमू ल्होसार क्रमशः सिर्जनशील बन्दै गइरहेका छन् । ल्होसारको अवसर पारेर विभिन्न संघसंस्थाले गुरुङ भाषा, साहित्य, संस्कार र संस्कृतिबारे अन्तरक्रिया, प्रतियोगिता, विचार गोष्ठी, उत्कृष्ट पुस्तकहरूलाई पुरस्कृत गर्दै आइरहेका छन् । तर विडम्बना, यति महत्त्वपूर्ण पर्वमा गुरुङ समुदायले बडो मुस्किलले एक दिन सार्वजनिक बिदा पाउँछन् । यही बिदा पनि आदिवासी जनजातिको कैयौं दिनको सडक आन्दोलन र वार्तापछि पाइएको हो ।

त्यसअघि आदिवासी जनजातिका चाडपर्वलाई सम्बन्धित जाति, समुदाय र क्षेत्रमा मात्रै सीमित गरिएको थियो । यो एक दिनको बिदामा पंक्तिकार पोखरादेखि गैंडाकोट, नवलपरासीमा रहेका आमाबुबाकहाँ पुगेर ल्होसार मनाई फर्कंदा यता आफू कार्यरत विद्यालयमा दुई दिन बढी बिदा गइसकेको हुन्छ । यही कारण आफ्ना आमाबुबा, माइती, मावलीसँगै बसेर ल्होसार मनाउनबाट र ल्होसारको अवसरमा आयोजित गुरुङ भाषा, धर्म, साहित्य र संस्कृतिबारेका विभिन्न अन्तरक्रिया र विचार गोष्ठीमा उपस्थित हुनबाट वञ्चित भइरहेकी छु । ल्होसारमा दसैं र तिहारमा जस्तो लामो बिदा दिइँदैन जसका कारण गुरुङलगायतका आदिवासी जनजातिले आफ्ना भाषा, धर्म र साहित्य र संस्कृतिबारेको विमर्शका कार्यक्रममा सहभागी हुन नपाउँदा क्रमशः ती जाति, भाषा र संस्कृति सत्ताको वर्चस्वशाली संस्कृतिमै विलीन हुन पुग्छन् र उनीहरूलाई पहिचानविहीन बनाइन्छ । झट्ट हेर्दा सामान्य देखिने यो पीडा आफ्नै देशमा अधीनस्थ, सीमान्तीकृत र अनागरिकजस्तो भएर बाँच्न विवश नागरिकले मात्र अनुभूति गर्न सक्छन् ।

नेपालको संविधानको धारा १८(१) मा सबै नागरिक कानुनका दृष्टिमा समान हुनेछन् भनिएको छ । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको वाक्य र उपधारा (३) मा राज्यले नागरिकहरूबीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनेर संविधानको मौलिक हकमै उल्लेख गरिएको बुँदाविपरीत आदिवासी जनजाति, महिला, दलितलगायतलाई समानताको हकबाट पाखामा पारिएको छ । नेपाल सरकारले २०८० सालका लागि सार्वजनिक गरेको बिदा तालिकामा हिन्दु धर्मावलम्बीका लागि दसैंमा कात्तिक ४ देखि ९ सम्म ६ दिन, तिहारमा कात्तिक २६ देखि ३० सम्म ५, घटस्थापनामा १, श्रीकृष्ण जन्माष्टमीमा १, शिवरात्रिमा १ र रक्षाबन्धनमा १ दिन गरी १५ दिनको सार्वजनिक छुट्टी दिएको छ । यो केन्द्र सरकारले दिने बिदा भए पनि नेपालका अधिकांश विद्यालयमा यही दसैं र तिहारका बेला अरूसमेत मिलान गरी १५ देखि ४५ दिनसम्म छुट्टी दिने गरिन्छ ।

पंक्तिकारको विद्यालय पनि असोज अन्तिम सातादेखि मंसिर ४ सम्म ३६ दिन बिदापछि खुलेको थियो । जबकि यस विद्यालयमा दसैं, तिहार मनाउनेभन्दा बढी ल्होसार, इद, क्रिसमस मनाउने विद्यार्थी छन् । तर उनीहरूका चाडपर्व ल्होसार, उँभौली, इद, क्रिसमसलगायतले वर्ष दिनमा जम्मा एक दिन मात्रै सार्वजनिक बिदा पाउँछन् । एउटै देशका नागरिक, एउटै कक्षाकोठाको एउटै बेन्चमा बसेर पढ्ने एउटा विद्यार्थीले दसैंदेखि तिहारसम्ममा १५ देखि ४५ दिनसम्म बिदा पाउँदा जम्मा एक दिन मात्रै छुट्टी पाएको अर्को विद्यार्थीको मानसपटलमा विद्यालय, व्यवस्था र राज्यप्रति कस्तो प्रश्न सृजित होला ? सत्तामा बसेकाहरूले गम्भीर र जिम्मेवार भएर सोच्नुपर्ने समय हो यो ।

संविधान देशको मूल कानुन हो । राज्य कानुनअनुसार चल्नुपर्छ र कानुनमा उल्लेख गरिएका सबै अधिकार सबै नागरिकले समान रूपमा पाउनुपर्छ । तर हामी यति असहिष्णु बन्दै गएका छौं कि संविधानकै आधारमा सीमान्तीकृत जाति, भाषा र धर्मावलम्बीका पक्षमा बोल्दा, एक समुदायले अर्को समुदायको धार्मिक आस्था र विश्वासलाई सम्मान गर्नुपर्छ भन्दा विरोध र घेराबन्दीमा परिरहेका छौं । पछिल्लो समय हामी भन्ने नेपाली भावना भत्किएर म र मेरो मात्रै भन्ने स्वार्थ चुलिँदै छ । यसका कारण एक थरीले जनसंख्याका आधारमा हिन्दु धर्मावलम्बी धेरै भएकाले हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भनिरहेका छन् भने अर्का थरीले त्यस्तो भए चुप लागेर नबस्ने भनिरहेका छन् ।

हामीले के बुझ्नु र बुझाउनुपर्छ भने, धर्म राज्यको हुँदैन व्यक्तिको हुन्छ र कुनै पनि जातिको पहिचान निर्माण उसको जनसंख्या होइन इतिहास, सभ्यता र संस्कृतिका आधारमा हुन्छ । सबै जातिलाई आफ्नो पहिचान त्यत्तिकै प्यारो र महत्त्वपूर्ण छ । हामीले आफ्नो धर्म, भाषा र संस्कृतिको कुरा गरिरहँदा अर्को समुदायको भाषा, धर्म र संस्कृतिलाई पनि सम्झनुपर्ने हुन्छ । आफ्नो धर्मको पक्षमा वकालत गरिरहँदा अर्कोलाई कस्तो असर परिहेको छ, यसतर्फ ध्यान दिनु जरुरी छ ।

हामीले यस्ता कुरा कहिल्यै हाम्रा पाठ्यपक्रम र पाठ्यपुस्तकमा समावेश गराएनौं । संविधानमा नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । स्पष्टीकरणमा यस धाराको प्रयोजनका लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने लेखिएको छ, जसमा प्रयुक्त सनातान शब्दको अर्थ प्रज्ञा नेपाली बृहत् शब्दकोशमा अनादिकाल, परापूर्व, धेरैअघि वा वैदिककालदेखि चल्दै आएको, शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम भनिएको सन्दर्भबाट संविधान लेख्ने बेला नै आदिवासी जनजातिलाई गुमराहमा पारिएको स्पष्ट छ ।

संविधानमा धर्मनिरपेक्ष मुलुक भनिए पनि स्पष्टीकरणमा जसरी सनातन शब्द थपेर राज्यसत्ताले एक भाषा, एक धर्म, एक संस्कृतिलाई काखी च्यापेर अरू समुदायलाई पाखामा राखेको छ, यसबाट सम्बन्धित समुदाय अनभिज्ञ रहेको नभई सहिष्णुता चाहेको हो भन्ने कुरा राज्यसत्ता र तिनका पक्षधरले जति चाँडो बुझ्न सक्यो, त्यति देश र जनताको हित हुन्छ । यसतर्फ राज्य, राजनीतिज्ञ, बुद्धिजीवी र धार्मिक अगुवा बेलैमा सचेत रहनुपर्ने समय आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्