सुदूरपश्चिम

सुदूरपश्चिमको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान

सोमबार, पुस ९, २०८०

काठमाडौँ– सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकाले लगानी गर्न आह्वान गरेको छ ।

काठमाडौँमा आज सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी गर्न आह्वान गरेको हो । 

नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा वेशभूषामा सम्पन्न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन् । उनले भनिन्, “सुदूरपश्चिममा प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ ।” 

क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिँदै उनले भनिन्, “दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ । यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरूलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्ने बुझाउन जरुरी छ ।” 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा जन्मिएर देश र विदेशमा विभिन्न पद र ओहदामा बसेकाहरूले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरे । उनले भने, “अब सुदूरपश्चिममा सम्भावनाका ढोका खुलिसकेका छन् । हामीसँग ठूलो बजार छ । हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीका लागि वातावरण निर्माण गर्छौं र तपाईंहरु आएर लगानी गरिदिनूस् ।” 

सुदूरपश्चिमका पर्यटनमन्त्री रमेश धामीले सङ्घ सरकारले सुदूरपश्चिममा लगानी गर्नुपर्छ भन्ने महसुस गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरे । उनले भने, “सुदूरपश्चिममा लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि मात्र निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ । हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सुदूरपश्चिममा स्थापना गर्ने गरी काम अघि बढाइसकेका छौँ । अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस् ।” 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गरे । लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनालाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनामा पनि लगानी गर्न आग्रह गरेको छ । 

त्यसैगरी, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्ने बताए ।

 नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रवद्र्धन गर्न आग्रह गरे । युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा इयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रवद्र्धनका लागि इयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी, पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए । त्यसैगरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष नीलहरि बास्तोला, र्‍याफ्टिङ एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सिइयो शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरुले सुदूरपश्चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्