नेभिगेशन
समाज विविध
अनुशासनका नाममा विद्यार्थीमाथि अत्याचार

काठमाडौंका स्कुलमा डीआईका नाममा बाउन्सर राखिन्छन्, गुण्डा राखेर शिक्षाको ज्योति कहिलेसम्म?

काठमाडौं– तीनकुनेस्थित हिमालयन ह्वाइट हाउस कलेजमा एक छात्रामाथि डिसिप्लेन इञ्चार्ज (डीआई)ले अभद्र व्यवाहार गरेपछि विद्यार्थी आन्दोलित भए। प्रहरीले ति डीआईलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। तर, विद्यार्थी रोकिएका छैनन्। उनीहरूले डीआई खारेजीको नै माग राखेका छन्।

यो उक्त कलेजको मात्र समस्या होइन। काठमाडौंका प्रायः कलेज र स्कुलमा डीआईका नाममा बाउन्सर जस्ता मुस्तण्डा राखिने गरिएका छन् जसले विद्यार्थीमा त्रासको मानसिक दबाब कायम राख्छन्। उनीहरूको डरका कारणले नै स्कुल जाने किशोरवयमा मानसिक दबाब रहने गरेको पाइएको छ।

‘स्कुलमा हामीले नानीबाबुलाई राम्रो र नैतिक शिक्षासहित सिकाउनका लागि पठाउने हो यसरी त्रास दिलाउनका लागि पठाउने होइन, स्कुलले त्यसको क्षतिपूर्ति गर्न सक्तैन’, अभिभावकहरू भन्छन्।  

डीआई भनेर राखिएका मुस्तण्डाहरू वास्तवमा बाउन्सर हुन्। शिक्षाको मन्दीरमा नीतिले नैतिक आचरण सिकाउने हो। ‘तर नैतिक आचरण कायम गराउने नाममा गुन्डा राखेर, बाउन्सर राखेर कस्तो शिक्षा दिन्छन्, स्कुलहरू यो त देखिहाल्नुभयो नि?’, अभिभावकको गुनासो छ।

शिक्षण विधिमा डीआईको अर्को अर्थ पनि हुन्छ– डाइरेक्ट इन्स्ट्रक्शन। यसको मूल लक्ष्य र अर्थ सकारात्मक छ। प्रत्यक्ष निर्देशन विद्यार्थीहरूलाई व्याख्यान वा सामग्रीको प्रदर्शन प्रयोग गरेर सीप सिकाएर शिक्षण गराउने विधि हो। तर काठमाडौंका स्कुलमा राखिएका डीआईलाई जुनसुकै अर्थमा हेर्दा पनि सकारात्मक पाउन सकिन्न। ‘विद्यार्थीले फिस तिर्न ढिलाई गरेको खण्डमा अभिभावकसम्मलाई थर्काउने काममा डीआईको प्रयोग गरिन्छ’, एक अभिभावक आक्रोशित हुँदै भन्छन्,‘तिनैले विद्यार्थीमाथि यौनिक हिंसा समेत गर्दै आएका खबर सुनिन्छ। आखिर स्कुल किन यसो गर्छन् त।’

एक विद्यार्थी भन्छिन्,‘स्कुल भनेको शिक्षाको मन्दिर हो। तर, नाइट क्लव जस्तो बाउन्सर प्रयोग गरिन्छ। भाईहरुलाई खाजा खुवाउन पनि नपाउने कस्तो परम्परा हो? त्यसैले विरोध गर्नु परेको हो।’

अध्यापन गराइरहेका वाईपी आचार्यले विद्यार्थीलाई कुनै पनि प्रकारको दण्ड दिनु राम्रो नहुने तर्क अघि सारेका छन्। विभिन्न ठाउँमा गरेको अध्ययनको विषयलाई उल्लेख गर्दै उनले अनुभव शेयर गरेका थिए।

 विद्यार्थीलाई दिइने दण्डविरुद्धका कानुन त बने तर कानुनी दाम्लोले पीडकलाई बाँध्न नसकेको आचार्यको ठहर छ।

‘दण्डको प्रकृति फेरियो तर मात्रा घटेन । नेपालमा यस्ता दण्डका बारेमा वैज्ञानिक अध्ययन भएको खासै भेटिँदैन तर केही रिपोर्ट र सञ्चार माध्यमका सूचनाले शारीरिक तथा मनोवैज्ञानिक दण्डका कारण हाम्रा विद्यालयहरू असुरक्षित रहेको देखाउँछन्’, उनले भनेका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध